प्रहरीले दशैं सुरक्षा योजना अनुरुप चोर-लुटेरामाथि गोली चलाउन सक्ने


लेखक : लेखापढी      ३१ भाद्र २०७९, शुक्रबार १४:५४ मा प्रकाशित     
प्रहरीले दशैं सुरक्षा योजना अनुरुप चोर-लुटेरामाथि गोली चलाउन सक्ने

जिल्ला प्रहरी परिसर ललितपुरले दशैं र तिहार लगायत चाडपर्व केन्द्रीत सुरक्षा योजना लागू गरेको छ । चोरी, लुटपाट, जुवा, झै–झगडा र सवारी टिकटमा हुनसक्ने कृतिम अभाव नियन्त्रण गर्न विशेष योजना लागू गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधीरराज शाहीले बताए ।

चाडपर्वको सुरक्षामा एक सिफ्टमा १५ सय प्रहरी परिचालन गर्नेगरी ललितपुर प्रहरीले सुरक्षा योजना बनाएको छ । बैंक तथा वित्तिय संस्था, किनमेल गर्ने ठाउँ, सुनचाँदी पसल र मानिस जमघट हुने ठाउँमा लुटपाट नियन्त्रण गर्न प्रहरी टोली परिचालन गरिएको छ । सादा पोसाकमा खटिएका प्रहरीले लुटपाट गर्ने समूहबारे निगरानी गर्छन् । लुटपाट गरेर भागेमा उनीहरुलाई छेकबार गर्न मोटरसाइकलमा क्विक रेस्पोन्स टिम खटिएका हुन्छन् । 

लुटपाट नियन्त्रणमा खटिएका प्रहरीले गोली चलाउन सक्छन् । ‘मोटरसाइकल गस्ती गर्ने टिमलाई लुटपाट भएमा तत्काल पुग्ने र बल प्रयोग गर्ने आदेश गरिएको छ’ एसपी शाहीले भने–‘गस्ती टोलीलाई लुटेराको खुट्टामा गोली हान्ने सम्मको आदेश छ ।’

कालोबजारी सिर्जना गर्न सक्ने व्यापारिक घरानामाथि पनि निगरानी बढाएको छ । लगनखेल, सातदोबाटो, मंगलबजार, सानेपा र बालकुमारी लगायतका ठाउँमा प्रहरीले निगरानी शुरु गरेको हो । ‘३ तहको घेरा बनाएर कोभर्ट अपरेशन सञ्चालन गर्छौं ।’ चोरी नियन्त्रण गर्न चक्रपथभित्र १२ वटा एम्बुसिङ टोली परिचालन गर्नेगरी सुरक्षा योजना तयार गरिएको छ ।