भलिबल संघको अध्यक्षमा जितेन्द्र बहादुर चन्द निर्वाचित


लेखक : लेखापढी      २३ भाद्र २०७९, बिहीबार ०३:३८ मा प्रकाशित     
भलिबल संघको अध्यक्षमा जितेन्द्र बहादुर चन्द निर्वाचित

काठमाडौं । नेपाल भलिबल संघको केन्द्रिय अध्यक्षमा जितेन्द्र बहादुर चन्द निर्वाचित भएका छन् । 

बुधबार भएको चुनावी साधारण सभामा निरोज मास्केलाई पराजित गर्दै चन्द संघको नयाँ अध्यक्षमा निर्वाचित भएका हुन् । 

संघको चार वर्षे नयाँ नेतृत्वका लागि उपाध्यक्ष मास्के र महासचिव चन्द चुनावी प्रतिस्पर्धामा थिए । 

बिहीबार राति सार्वजनीक मतपरिणाम अनुसार जितेन्द्रले अध्यक्ष पदमा जित निकाले । 

महासचिव पदमा जितेन्द्रकै प्यानलका रोशन श्रेष्ठ निर्वाचित भए । उनले मनवीर छन्तयाललाई हराए । 

संघमा रहेको १ सय ३३ मत मध्य १ सय २८ मत खसेको निर्वाचन समितिले जनाएको छ । 

संघको नयाँ नेतृत्व सहित ७ उपाध्यक्ष, महासचिव, ७ सचिव, कोषाध्यक्ष र ११ कार्यसमिति सदस्यका लागि निर्वाचन भएको थियो । संघमा दुई उपाध्यक्ष र १० जना सदस्य मनोनयनबाट आउनेछन् ।

मतदान अघिनै ६ उपाध्यक्ष निर्विरोध निर्वाचित भएका थिए । उपाध्यक्षहरुमा गण्डकीबाट याम गुरुङ, मधेशबाट उपेन्द्र यादव, सुदूरपश्चिमबाट हर्क सिंह धामी, कर्णालीबाट भरतबहादुर शाह, प्रदेश एकबाट मदन खड्का र लुम्बिनी प्रदेशबाट भिम ओली निर्वाचित भए । 

सचिवमा कर्णालीबाट सोमबहादुर श्रेष्ठ, मधेशबाट महम्मद फिरोज, गण्डकीबाट श्रीधर शर्मा, सुदूरपश्चिमबाट गणेशसिंह ठगुन्ना र बागमतीबाट सुनकेशरी माली निर्विरोध निर्वाचित भएका थिए ।