सन्दीप लामिछाने बिरुद्ध यौन दुर्व्यवहारको आरोप सहित प्रहरीमा उजुरी


लेखक : लेखापढी      २२ भाद्र २०७९, बुधबार ०१:०१ मा प्रकाशित     
सन्दीप लामिछाने बिरुद्ध यौन दुर्व्यवहारको आरोप सहित प्रहरीमा उजुरी

काठमाडौं- नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय, टेकुमा मंगलबार साँझ यौन दुर्व्यवहारको गरेको आरोपसहित किटानी जाहेरी परेको हो ।

प्रहरी उच्च स्रोतले लामिछानेविरुद्ध उजुरी परेको पुष्टि गरेको छ ।

आरोपमा भनिएको छ :
उक्त किशोरी र सन्दीपको चिनजान स्न्यापच्याट मार्फत भएको थियो । किशोरी सन्दीपकी फ्यान थिइन्। स्न्यापच्याटमा ‘स्यान्डी ड्रिम्स’ नामको सन्दीपको आईडीमा जोडिएकी उनलाई सन्दीपले राम्रै महत्व दिएको महसुस गरी नजिक भइन् ।
स्न्यापच्याटमार्फत चिनजान भए पनि चिनजानको छोटो समयमै उनी इन्स्टाग्राममा पनि जोडिएका थिए। तर सन्दीप भने ती किशोरीसँग स्न्यापच्याटमा मात्रै कुरा गर्थे। स्न्यापच्याटमा आफैँ म्यासेज डिलिट हुने गरी सेटिङ मिलाउने सुविधा हुन्छ।
स्न्यापच्याटमा जोडिएपछि भेटघाटका लागि सन्दीपले प्रस्ताव गरेका थिए। भेटका लागि किशोरी राजी भइन्। भदौ ५ गते साँझ ६ बजे किशोरीलाई लिन सन्दीप निजी कार लिएर किशोरी बस्ने होस्टल नजिकै आए।

कुनै क्याफेमा पुगेर कफी पिउँदै सन्दीपसँग फोटो लिने किशोरीको चाहना थियो। सन्दीपले किशोरीलाई लिएर कार भक्तपुरतिर हुत्याए। यतिन्जेल आफूहरु कहाँ जान लागेको भन्ने किशोरीलाई जानकारी थिएन। त्यसमाथि कारमा बसेलगत्तै सन्दीपले उनको मोबाइल पनि खोसिसकेका थिए। किशोरीले फर्किन आग्रह गरिन्। तर सन्दीपले समयमै ‘ड्रप’ गरिदिने आश्वासन दिए। करिब ८ बजे उनीहरु नगरकोट पुगे।

नगरकोटमा केही खानपानसँगै सन्दीपले मद्यपान गरे। किशोरीको मन आत्तिरहेको थियो। उनीभित्र समयमै होस्टल फर्किने छटपटी थियो। उनले फर्किने जिद्दी गरिन्। किशोरीको जिद्दीपछि सन्दीप काठमाडौं फर्किन राजी भए। उनीहरु काठमाडौं पुगुञ्जेल रातिको ११ बजिसकेको थियो। होस्टल बन्द भइसकेकाले कहाँ जाने भन्ने अन्योल किशोरीमा थियो। सन्दीपले होटल जान प्रस्ताव गरेका थिए। किशोरीसँग अर्को विकल्प थिएन, सन्दीपको प्रस्ताव स्वीकार गर्दै उनले भनिन्– दुईओटा कोठा बुक गर्नुस्।
 
साढे ११ बजे गौशालास्थित तिलगंगामा रहेको एक होटलमा उनीहरू गए। बुक गरेको कोठामा एसी नभएको भन्दै अर्को कोठामा सरे। पीडित पक्षका अनुसार सन्दीपले कारमा छँदा होटलमा फोन गरेजस्तो गरेपनि होटलमा अरु पनि कोठा खाली थिए। त्यसपछि मादक पदार्थ पिलाएर लठ्याएर आफूमाथि सन्दीपले जबर्जस्ती करणी गरेको आरोप किशोरीले लगाएकि हुन् ।

ती किशोरीका अनुसार सन्दीपले अर्को दिन नै उनलाई स्न्यापच्याट र इन्स्टाग्राम सबैतिरबाट ब्लक गरे। आफूले यही कुरा साथीलाई सेयर गरेपछि साथीको सल्लाहमा आफूले उजुरी दिएको पनि ती किशोरीले बताएकी हुन् ।
केन्यासगँको सिरीज खेल्न केन्या जानु अघिल्लो रात अर्थात् ५ भदौमा घटना भएको उल्लेख छ ।