भारतीय सेना प्रमुख मनोज पाण्डे आज काठमाडौं आउँदै


भारतीय सेना प्रमुख मनोज पाण्डे आज काठमाडौं आउँदै

काठमाडौं- भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डे आज नेपाल भ्रमणमा आउँदैछन् ।

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाण्डे पाँच दिने भ्रमणका लागि आज अपराह्न काठमाडौं आउन लागेका हुन् ।

पाँचदिने नेपाल भ्रमणका क्रममा उनले सैनिक मञ्च सोमबार टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, सेनाको मुख्यालय जंगी अड्डामा सम्मान गारत निरीक्षण गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशालयले जनाएको छ ।  भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछिन् । नेपाल र भारतबीच सन् १९५१ देखि एकअर्का देशको सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ ।

नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानसेनापति शर्मा लगायतलाई भेटवार्ता गर्ने कार्यक्रम छ । उनको भ्रमणलाई लक्षित गरी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।