कुलमान घिसिङ माओवादीबाट संघीय निर्वाचन लड्ने तयारी


कुलमान  घिसिङ माओवादीबाट संघीय निर्वाचन लड्ने तयारी

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले मंसिर ४ मा हुने चुनाव लड्ने आकांक्षा देखाएका छन् । उनी प्रतिनिधिसभा निर्वाचनमा लड्नका लागि माओवादीसँग निरन्तर छलफलमा रहेका नेताहरुले बताएका छन् । 

माओवादी केन्द्रका प्रस्तावित पोलिटब्युरो सदस्य महेश्वर दाहालले घिसिङले माओवादीको तर्फबाट चुनाव लड्नका लागि आकांक्षा राखेको पुष्टि गरे । ‘कुलमान घिसिङले चुनाव लड्न इच्छा राख्नुभएको देखिन्छ, ‘माओवादीसँग भएको छलफलअनुसार नै अध्यक्ष प्रचण्डले संकेत पनि गर्नुभएको हो ।’ घिसिङले कहाँबाट चुनाव लड्ने भन्नेबारे चाहिँ छलफलकै क्रममा रहेको दाहालले बताए । घिसिङले काठमाडौं क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने चर्चा चलिरहेको छ । तर दाहालले भने  काठमाडौं ३ वा रामेछाप कहाँबाट उठ्ने भन्नेबारे पार्टीले निर्णय गर्न बाँकी रहेको बताए । 

घिसिङको गृहजिल्ला रामेछाप भएकाले त्यहाँ पनि उनको राम्रो प्रभाव रहेको बताइन्छ । घिसिङ माओवादीकै जोडबलमा दोस्रो कार्यकालका लागि  बिद्युत प्राधिकरणको प्रबन्ध निर्देशक भएर गएका थिए । उनी कार्यकाल नसकिँदै प्राधिकरणबाट राजीनामा दिएर चुनाव लड्ने योजनामा लागेका हुन् । घिसिङले भने यसबारे मुख खोलिसकेका छैन । 

चर्को लोडसेडिङको मारमा देश रहेको बेला लोडसेडिङ गरेपछि घिसिङको लोकप्रियता ह्वात्तै बढेको थियो । शनिबार माओवादीको उपत्यका विशेष प्रदेश कमिटी बैठकमा अध्यक्ष प्रचण्डले काठमाडौंमा बालेन शाह भन्दा चर्चित उम्मेदवार खडा गर्ने बताएका थिए । ‘उम्मेदवार पनि नयाँ नयाँ मान्छे लिएर आउने सोच्दैछौँ, नयाँ मान्छे, तपाईंहरूले सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ मेरो’, प्रचण्डको भनाइ थियो । 

माओवादीले लोकप्रिय उम्मेदवार उठाएर काठमाडौंमा प्रभाव बढाउने रणनीति बनाएको छ । माओवादीको गत केन्द्रीय समिति बैठकमा सहरी क्षेत्रमा पार्टी कमजोर भएको भन्दै विशेष योजना बनाउनुपर्नेमा नेताहरुले नेतृत्वलाई सुझाव दिएका थिए ।