डा. भगवान कोइरालाको आत्मवृत्तान्त ‘हृदय’; महँगो पुस्तक, बाल अस्पताल खोलिने


डा. भगवान कोइरालाको आत्मवृत्तान्त ‘हृदय’; महँगो पुस्तक, बाल अस्पताल खोलिने

काठमाडौं- वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डा. भगवान कोइरालाको आत्मवृत्तान्त ‘हृदय’ विशेष संस्करण तयार भएको र त्यसको बिक्रीबाट आउने सबै रकम काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई दिइने भएको छ । 

फाइन प्रिन्ट प्रकाशनका निरज भारीले आइतबार विशेष साजसज्जा सहितको विशेष सीमित स‌ंस्करणमा एकपटकमात्र २५०० प्रति पुस्तक प्रकाशित गरिने पनि जानकारी दिए । हार्डकभरसहितको विशेष संस्करणको मूल्य प्रतिपुस्तक २५,००० (पच्चिस हजार) राखिएको छ । पुस्तक बिक्रीबाट ६ करोड २५ लाख रुपैयाँ स‌ङ्कलन हुने अपेक्षा गरिएको छ । 

विशेष सीमित संस्करणका सबै पुस्तकमा लेखक डा. भगवान कोइरालाको हस्ताक्षर र पुस्तकको क्रमाङ्क उल्लेख गरिएको हुनेछ । किओचमा सम्पर्क गरी पुस्तकको अग्रिम बुकिङ गर्न सकिनेछ । अग्रिम बुकिङ गरिएका पुस्तकहरू विमोचन समारोहमै वितरण गरिनेछ । 

‘हृदय’को विशेष संस्करणको विमोचन यही भदौ २५ (सेप्टेम्बर १०) मा हुने जानकारी पनि प्रकाशक भारीले दिएका थिए । विशेष संस्करण प्रकाशनको खर्च प्रकाशकले बेहोर्ने र लेखकले पनि लेककस्व नलिने जानकारी पनि कार्यक्रममा दिइएको थियो ।

कार्यक्रममा डा. कोइरालाले विशिष्ठीकृत बाल अस्पतालको आवश्यकता र किओचको परिकल्पनाका सम्बन्धमा जानकारी दिएका थिए ।