नेता प्रदिप गिरिको निधन, यस्तो छ उहाँको बिगत


नेता प्रदिप गिरिको निधन, यस्तो छ उहाँको बिगत

नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधन भएको छ। ७५ वर्षको उमेरमा नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । 

लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात् केही महिनाअघि नेपाल फर्किएका गिरी साउन ९ गते मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । शनिबार राति ९ः ३६ बजे उनको निधन भएको छ । काँग्रेसका नेता तथा समाजवादी चिन्तक समेत रहेका गिरि प्रतिनिधिसभा सदस्य समेत रहेका थिए ।  

प्रदीप गिरिको जन्म २००४ सालामा सिरहाको बस्तीपुरमा भएको थियो ।  बुबा मित्रलाल गिरि र पुण्यप्रभाका पुत्र गिरिले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए ।

नेपालका सबैजसो शान्तिपूर्ण राजनीतिक आन्दोलनमा उनी सहभागी थिए । त्यसक्रममा उनी  कांग्रेसका संस्थापक नेता बिपी कोइरालाका सहयात्रीसमेत भए ।

बिपीसंग उनको भारतको बनारसमा छात्र संघमा निर्वाचन लड्दादेखिको राजनीतिक संगत थियो । राजनीतिक संघर्षकै क्रममा गिरिले करिब तीन वर्ष जेलजीवन बिताए ।

राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष उनले जेल जीवन बिताइसकेका छन् । उनी २०२४ सालमा नेपाल छात्र सङ्घ (बनारस) को निर्वाचित उपाध्यक्ष थिए । २०५१ सालको संसदीय निर्वाचनमा सिराहा ५ बाट निर्वाचित भएपछि गिरि राष्ट्रिय राजनीतिमा उदाएका थिए । 

०५६ साल निर्वाचनमा सिरहा ५ मा पराजित भएका उनी पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा समानुपातिक सभासद भए । ०७४ मा भएको निर्वाचनमा उनी सिराहा १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । कांग्रेसमा गिरि कृष्णप्रसाद भट्टराई नजिकका नेताका रूपमा चिनिन्थे ।

२०५१ सालदेखि संसदीय राजनीतिमा सक्रिय उनी ०५६ को आम चुनावमा पराजित भए । ०६४ र ०७० को संविधानसभामा समानुपातिक सांसदको रूपमा संविधान लेख्ने कार्यमा सक्रिय गिरिले ३ असोज २०७२ मा जारी संविधानमा भने हस्ताक्षर गरेनन् ।

त्यसपछि ०७४ मा भएको संघीय निर्वाचनमा उनी प्रत्यक्षतर्फ निर्वाचित भए । पटक-पटक सांसद बनेका गिरिमा सत्ता प्राप्तिको लालशा कहिल्यै देखिएन ।

गिरिका लेनिनको जीवनी, नारी, मार्क्सवाद र अर्थशास्त्रलगायत एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।