‘लभ इन जेरुसलेम’ उपन्यास माथि परिचर्चा


‘लभ इन जेरुसलेम’ उपन्यास माथि परिचर्चा

४ भाद्र २०७९, शुक्रबार
काठमाडौँ । आख्यानकार कल्पना खरेलको उपन्यास ‘लभ इन जेरूसेलम’ माथि परिचर्चा गरिएको छ । बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा नेपालका लागि इजरायली राजदूत हनन गोडर, प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, वरिष्ठ कथाकार एवं प्राज्ञ माया ठकुरी लगायत विशिष्ठ व्यक्तिहरूको उपस्थितिमा उक्त उपन्यासमाछि चर्चा र बहस भएको हो ।

कार्यक्रममा उपन्यासका बारेमा प्रतिष्ठानका कुलपति उप्रेतीले नेपाल र इजरायलबीचको सम्बन्धलाई मजबुत बनाउने ‘लभ इन जेरुसलेम’ उपन्यासले एक ईंटा थपेको छ भन्नुभयो । उहाँले आफूले पनि इजरालको भ्रमण गर्दा त्यहाँको साहित्य र हाम्रो साहित्य तथा साहित्यकारबीचको सम्बन्ध मजबुत बन्दै गएको कुरा बताउनुभयो । उहाँले उपन्यासको सन्देश महत्वपूर्ण रहेको भन्दै लेखकलाई बधाई समेत दिनुभयो ।

यसैगरी राजदूत गोडरले यो उपन्यास बजारमा आएको खबरले आफू हर्षित भएको बताउँदै लेखकलाई बधाई दिनुभयो । नेपाल र इजरायलको मित्रतालाई यस उपन्यासले अझ मजबूत पारेको अनुभूति आफूलाई भएको उहाँको भनाइ थियो ।

उपन्यासका विषयमा प्राज्ञ बाबा बस्नेत र प्राध्यापक सुनिल अधिकारी, प्राज्ञ माया ठकुरी, साहित्यकार दीप्स शाह लगायतले पनि चर्चा गर्नुभयो ।

सो क्रममा उपन्यासकार खरेलले आफ्ना कृतिले सर्वत्र चर्चा पाउनु आफ्ना लागि गौरवको कुरा भएको बताउनुभयो । यसले आफूलाई अझ अगाडि बढेर सृजनामा लागिरहन हौसला मिलेको समेत उहाँको भनाइ थियो ।

सोही कार्यक्रममा आख्यानकार खरेलको पछिल्लो उपन्यास ‘रानीतलाउ’को विमोचन समेत गरिएको थियो । खरेलका हालसम्म आधा दर्जन कृति प्रकाशित भइसकेका छन् ।