आर्थर गन; अमेरिकन आइडल फाइनलिस्टको नेपाल सांगीतिक टुर यता हुने


आर्थर गन; अमेरिकन आइडल फाइनलिस्टको नेपाल सांगीतिक टुर यता हुने

काठमाडौं । अमेरिकन आइडल फाइनलिस्ट दिवेश पोखरेल (आर्थर गन)को नेपाल टुरको सेप्टेम्बरको तालिका सार्वजनिक भएको छ । दिवेश सांगीतिक प्रस्तुतिका लागि यतिबेला नेपाल आएका छन् । ‘टुबोर्ग होमकमिङ आर्थर गन’ शीर्षकमा उनी देशका विभिन्न सहरमा गुन्जिदै छन् । 

उनको नेपाल सांगीतिक टुरको पहिलो प्रस्तुति अगस्ट २० अर्थात भोलि शनिबार काठमाडौंको क्लब प्लाटिनमबाट सुरु हुँदै छ । त्यसपछि अगस्ट २४ मा चितवनको लाइम एण्ड लेमन, अगस्ट २६ मा पोखराको रोलिङ स्टोन्स र अगस्ट ३१ मा बुटवलको लर्डमा गर्ने तय थियो । अब भने आयोजक टिमले उनको सेप्टेम्बरमा हुने कार्यक्रम तालिका र भेन्यु पनि सार्वजनिक गरेको हो । सेप्टेम्बर २ मा काठमाडौंको प्राइभ नेपाल, सेप्टेम्बर ९ मा विर्तामोडको मोक्क्ष, १० सेप्टेम्बरमा धरानको भिन्टेज र अन्तिम प्रस्तुति सेप्टेम्बर १६ मा कीर्तिपुरको ससः त्वामा हुँदै छ ।  

अमेरिकन आइडलमा भाग लिएपछि पहिलोपटक उनी बुधबार नेपाल आइपुगेका हुन् । त्यसको भोलिपल्टै बिहीबार काठमाडौंमा पत्रकारसम्मेलन गरी उनले पत्रकारहरुसँग भेटवार्ता गरे । 

सांगीतिक टुरमार्फत नेपालको संस्कृति, पर्यटन र संगीतलाई विश्वबजारमा फैलाउन आफू नेपाल आएको दिवेशले बताए । 

उनलाई नेपाल टुरमा उनीसँगै आएका अमेरिकाकै उनका तीनजना ब्यान्ड सदस्यहरू क्रिस पाल्मर, एलेक्स स्म्थी र सियन लिले साथ दिँदैछन् ।

दिवेशलाई यो सांगीतिक प्रस्तुतिका लागि ब्रेनसर्मिसिङ इनर्कोपोरेटड प्रालिले नेपाल ल्याएको हो । आयोजक ब्रेनसर्भिसिङलाई एमएन इन्टरटेन्मेन्टले पनि सहकार्य गरेको छ ।