पोखिएको मसी (कविता)


पोखिएको मसी (कविता)

हाहाकार जताततै मुलुकमा देखिन्न कोही खुसी ।
चारैतर्फ म देख्दथे तिमिर झैँ ब्वाँसा नजिकै घुसी ।।
आयो लौन चुनाव जीवथ बनी भान्सा र कान्ला पसी ।
बग्थे भेल बनेर आँसु गहमा पोखिन्छ मेरो मसी ।।

आफ्नै लास गनेर पोल्नु चितिका दुर्भावना पाटिका ।
आमोषी सबले लुटे धन यहाँ फाँडी बसे वाटिका ।।
आकाङ्गा जनका बिचार नगरी चौपट्ट चारै बसी ।
बग्थे भेल बनेर आँसु गहमा पोखिन्छ मेरो मसी ।।

जामाता जनता छ दीन बबुरो बोली सधैं मन्द छ ।
देखे शासक बुद्धिहीन किन खै संस्कार दुर्गन्ध छ ।।
साँढे झैँ छ रवाफ नीति फितलो खै चेतनाको कसी ।
बग्थे भेल बनेर आँसु गहमा पोखिन्छ मेरो मसी ।।

भाषा,धर्म अपाङ्ग यो मुलुकमा जायापती भार भो ।
आफैंमा तुलशारिणी म त बने शास्ता बने झार जो ।।
ल्यायौ भाषणमा समृद्ध सपना नारा अनेकौं घसी ।
बग्थे भेल बनेर आँसु गहमा पोखिन्छ मेरो मसी ।।

मेरो सान महालया मुलुकका बेचेर खायौ बरा ।
जाजी तुल्य बनेछ शासक सधैं रोई बसेकी धरा ।।
तातो घाम बने चुनाव नजिकै देखिन्छ ठण्डा शशी ।
बग्थे भेल बनेर आँसु गहमा पोखिन्छ मेरो मसी ।।

हारेका जनता सधै विपदमा चिक्का (मुसा) बने शासक ।
तात्यो शब्द र लेखनी किन यहाँ मान्दै नमानी धक ।।
जोगी बन्नु हुँदैन शासक यहाँ आफै खरानी घसी ।
बग्थे भेल बनेर आँसु गहमा पोखिन्छ मेरो मसी ।।


 हेमराज पन्त
पाटन-२ सिलंगा, बैतडी 
हाल: पहलमानपुर, कैलाली
(साहित्यकार पन्त विभिन्न विधामा कबिता लेख्दै आउनुभएको छ, प्रस्तुत कविता “शार्दूलविक्रीडित छन्दमा लेखिएको छ । नियमित रुपमा साहित्यिक रचना पठाउनुभएकोमा हार्दिक आभार ब्यक्त गर्दछौ- लेखापढी डटकम )