कञ्चनपुरमा केकमा विषादी मिलाएर घरबेटीलाई बेहोस बनाई घर लुट्ने २ भारतीय पक्राउ


कञ्चनपुरमा केकमा विषादी मिलाएर घरबेटीलाई बेहोस बनाई घर लुट्ने २ भारतीय पक्राउ

कञ्चनपुर। कञ्चनपुरमा कोठा भाडामा लिने बहाना बनाई लुटपाट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुले गत वर्ष मिति २०७८ माघ २१ गते भीमदत्त नगरपालिका-३ बस्ने सन्तोष पाण्डेको घरमा कोठा भाडा लिएका थिए।

त्यसपछि ती २ जना भारतीय नागरिकले जन्मदिन हो भनि केकमा विषादी मिलाएर घरबेटीलाई खुवाई बेहोस बनाएर चोरी गरेका थिए। 

घरमा रहेका नगद तथा जिन्सी मालसमान लुटपाट गरी फरार रहेका सन्नी भन्ने सेरा जाट र साहिल शर्मालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनीहरु दुवै डाँका चोरी मुद्धामा कारागार कार्यालय धनगढी, कैलालीमा थुनामा रहेको र दुवैलाई जिल्ला अदालत कैलालीको आदेशमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा लगिएको छ।

उनीहरुमाथी आवश्यक थप अनुसन्धान भईरहेको जनाइएको छ ।