रमेश पन्त मीतबन्धुको लेख हरेली संक्रान्तिः एक चर्चा


रमेश पन्त मीतबन्धुको लेख हरेली संक्रान्तिः एक चर्चा

पृष्ठभूमि
नेपाल पर्वैपर्वहरूको देश हो । त्यसमा पनि देवभूमि मानसखण्ड अन्तर्गतको सुदूरपश्चिम प्रदेश विभिन्न धार्मिक, सांस्कृतिक तथा मौलिक परम्परागत लोकपर्व एवम् सम्पदाहरूले भरिपूर्ण प्रदेश हो । तसर्थ यो प्रदेशलाई लोकपर्व तथा लोकसम्पदाहरूको प्रदेशका रुपमा चित्रण गर्न सकिन्छ ।

हाम्रो देश नेपालमा महिनैपिच्छे कुनै न कुनै चाडपर्व परिरहने र धेरैजसो चाडपर्वहरू कृषि प्रधान देश भएकाले कृषिसंग सम्बन्धित रहेका पाइन्छन् । कृषिप्रधान देशको कृषिसँग सम्बन्धित एक मौलिक पर्वको रुपमा साउने संक्रान्ति, कर्कट संक्रान्ति, हरेली संक्रान्ति आदि नामले चिनिने हरेली पर्व अथवा लुतो फाल्ने पर्वलाई पनि लिन सकिन्छ । हरेली पर्व अथवा हरेली संक्रातका नामले परिचित साउन १ गतेदेखि शास्त्रानुसार सूर्य कर्कट राशीमा प्रवेश गर्ने मान्यता रहेकाले यो संक्रान्तिलाई कर्कट संक्रान्ति पनि भनिएको पाइन्छ ।

मौलिक प्रचलनः
हरेली शब्द हरियाली अर्थात् हराभरासँग सम्बन्धित छ । यसरी हरियाली शब्दसँग जोडिएको हरेली किसानहरूको लोकपर्व वा प्रचलन हो । यो किसानले साँझपख खेतबारीमा गएर कुनै विघ्न वाधा नपरोस, उत्पादन बढोस्, अन्नपातले भकारी भरियोस् भनेर भूमि वा कृषिका अधिष्ठाता देवता तथा शिवको पूजा गर्ने मौलिक पर्व वा परम्परा हो । यो साउन अथवा सावन वर्षा ऋतुको प्रतीक हो । यस महिनामा बर्षा उच्च हुने जसका माध्यमबाट धर्तीभरी सबैतिर हरियाली छाउने गर्दछ तसर्थ हरेलीसम्ममा मुख्य बाली धान रोप्ने समय सकिएको मानिने तथा यसबाट हिउँदे बालीको मौसम शुभारम्भको पुर्व सङ्केत मिल्ने जनविश्वास छ ।

प्रचलन क्षेत्र तथा महत्त्वः
हरेली पर्व नेपाल लगायत भारतको उत्तराखण्डमा पनि मनाउने गरिन्छ । मानसखण्ड अन्तर्गतको तात्कालिक डोटी राज्य हालको सुदूरपश्चिममा यसलाई हरेल्या (हरेली) संक्रातका रुपमा मनाउने र आफ्ना अन्नबाली जस्तै धान, कोदो, हलेदो, पिँडालु लगायतका खेतका बीच भाग वा आलिमा पहाडतिर नास्पाती वा मेलका फलयुक्त हाँगाहरु गाड्ने तथा माल भाँवरतिर नास्पाती वा अम्बा तथा अन्य फलका फलेका हाँगाहरू खेतमा गाड्ने अर्थात हरेली हाल्ने प्रचलन रहेको पाइन्छ । भविष्यमा केही अनिष्ट नहोस् तथा नकारात्मक शक्तिको आगमन नहोस भन्नका लागि सन्ध्याकालमा घरका ढोका अथवा म्वाल, देली र झ्यालहरूमा झिझिर्कांडा, मेल र कुर्जाे राख्ने प्रचलन रहेको पाइन्छ । यसरी घरमा झिझिर्कांडा राखेको देखेपछि नकारात्मक शक्तिका रुपमा रहेको मानिने भुतप्रेतले खेतमा किसान काममा व्यस्त रहेको मौका छोपी घरमा प्रवेश गर्न खोज्दा ढोकामा झिझिर्काँडा देखेपछि
“बुढा बुढी गडाखेत नन्दिना खौं,
म्वाल झिझिरकाँडी कै बाटा झौ”
“साउँ दिदी साउँ बाट झिझिर्काँडो कइबाट झाऊँ”

भन्ने र घरभित्र प्रवेश नगर्ने जनविश्वास पाइन्छ । झिझिर्काँडाका पातहरू कहिल्यै नओइलाउने भएकाले त्यो काँडा राखिएको घरमा दुख कष्ट, रोगव्याधी नपर्ने तथा परिवार सुस्वस्थ्य र सकुशल रहने विश्वास गरिन्छ । यसले घरबाहिर जाँदा सुरक्षाका उपायहरू अपनाउनुपर्ने र सँधै सजग रहनुपर्ने कुरा तर्फ सङ्केत गर्दछ ।

यतिमात्र होइन, घनघोर बर्षा र कालो बादलले वातावरण नै कालो मैलो बनाउने, खोलानालाहरूमा पानीको सतह बढ्ने, बाटाघाटाहरू झाडीले भरिने, बाढीपहिरोको प्रकोपको खतरा बढ्ने भएको र सो कारणले आवतजावत गर्न तथा भेटघाट गर्नै कठिनाई हुने भएकाले श्रावण मासलाई कालो महिनाको रुपमा लिइने गरेको पाइन्छ । यस महिनामा परिस्थिति अनुसार एक हप्ता, दुई हप्ता वा महिनाभरि नै नवविवाहितालाई पयलीले माइत पठाउनुपर्ने चलन पनि रहेको पाइन्छ । आजको दिनदेखि नवविवाहिताको माइतीमा दुलहाको घरबाट सामथ्र्र्य अनुसार फलफुल, वस्त्र आदि कोसेली अर्थात् ओल्को दिनुपर्ने प्रचलनको शुभारम्भ गरिन्छ । परिस्थिति अनुसार ओल्को साउन महिनाभरि मंगल र शनिबार बाहेकको कुनै एकदिन दिन सकिने प्रचलन रहेको छ । यस प्रचलनलाई सामाजिक सम्बन्ध र एकता प्रगाढ पार्ने प्रचलनका रुपमा लिन सकिन्छ ।

शास्त्र अनुसार यस दिनदेखि सूर्य उत्तरी गोलार्धबाट दक्षिणी गोलार्धतर्फ प्रवेश गर्ने भएकाले उत्तरायन सकिएर दक्षिणायन सुरू हुने तथा दिनहरू छोटो र रातहरू लामो हुँदैजाने विश्वास रहेको छ । अन्य धार्मिक पर्वहरूझैं तीर्थस्थल तथा घाटहरूमा गई स्नान गर्ने परम्परा रहेको यस पर्वमा असारमा अन्नबाली लगाएपछि अर्थात धान, मकै, कोदो आदि रोपेपछि शरीर फोहोर हुने र लुतो, घाऊ, खटिरा नआउन भनेर सरसफाइ गर्ने, रोगव्याधिनाशक खानेकुरा खाने तथा लुतो फाल्ने प्रचलन रहेको पाइन्छ तर तात्कालिन डोटी प्रदेशको धेरैजसो भुभागमा असोज १ गते लुतो फाल्ने गरेको पाइन्छ । शिवभुमि सुदूरपश्चिममा यो महिनाभरि शिवको मन्दिरमा गर्ई पूजाआजा एवम् आराधना गर्ने गरेको पाइन्छ ।

सौभाग्यको पर्वः
धार्मिक मान्यता अनुसार समुन्द्र मन्थनबाट निस्किएको कालाकुट विष भगवान शिवले ग्रहण गरि मानवहितका लागि काम गरेकाले मानवजातिले सौभाग्य प्राप्त गरेको रुपमा लिइन्छ ।

विशेषतः साउने सोमबारका दिन महिलाहरूले व्रत बस्ने, हातमा मेहन्दी लगाउने तथा विवाहिताले सौभाग्यको प्रतीक हरियो वस्त्र, हरियो चुरा, पोते धारण गरेर शिव आराधना गर्ने गरेको पाइन्छ ।

विशेषतः साउने सोमबारका दिन महिलाहरूले व्रत बस्ने, हातमा मेहन्दी लगाउने तथा विवाहिताले सौभाग्यको प्रतीक हरियो वस्त्र, हरियो चुरा, पोते धारण गरेर शिव आराधना गर्ने गरेको पाइन्छ । देश अनुसारको भेष भनेझैं भारतको उत्तराखण्ड र पूर्वी नेपालका केही भुभागहरूमा चैत वा भदौमा हरेलो गर्ने र मनाउने गरेको पनि पाइन्छ । यसरी धेरैजसो पर्वहरू वर्षको एकचोटी पर्ने भएपनि हरेलो पर्व बर्षको तीन चोटी पर्ने गरेको पाइन्छ ।

नेपालको विभिन्न ठाउँ र भारतको उत्तराखण्डमा हरेलो गर्दा पाँच वा सात प्रकारका अन्न जस्तैः जौँ, गहुँ, मकै, गहत, सर्स्युँ, मास, भटमास आदि रोपेर परम्परागत विधि र रीतिपूर्वक मनाउने गरेको पाइन्छ ।

निष्कर्षः
कृषि कर्मसँग सम्बन्धित अन्नबाली रोपण, उत्पादन तथा सुरक्षण लगायतका विषयवस्तु, सामाजिक एकता तथा वातावरण र स्वास्थ्य सरसफाइसँग सम्बन्धित विज्ञानसम्मत विषयहरू तर्फ संकेत गर्ने हरेलो पर्वको समाजमा धार्मिक, सांस्कृतिक तथा समाजिक महत्त्व रहेको पाइन्छ । नारी समाजले सौभाग्यको पर्वको रुपमा लिने गरेको यस पर्वले सकारात्मक जीवनपद्धतिका लागि संघर्ष गर्ने प्रेरणा दिएको पाइन्छ ।

सबैमा हरेली पर्वको शुभकामना !!


रमेश पन्त मीतबन्धु