म मृत्युशैयामा ढलिरहँदा (कविता)


म मृत्युशैयामा ढलिरहँदा (कविता)

म मृत्युशैयामा ढलिरहँदा
झपक्कै गरगहनाहरूले सजाइदिनु
अझै सक्छौ हिरामोती, माणिकले पनि
शिरदेखि पाउसम्म सुसज्जित गरिदिनु
जिउँदो छउन्जेल पाउन नसकेका वस्त्र
अलङ्कारहरूले ढपक्कै मृत मेरो शरिरमा
ढाकिदिनु ।
गलामा सयपत्री मालाले सजाइदिनु
पुष्पगुच्चाहरुले ढपक्कैे शरिर मेरो
ढाकिदिनु ।
सुन्दर मेरो मुहारमा सोह्र श्रृङ्गारले
धपक्कै बल्ने गरेर सजाइदिनु
जतन गरी सन्जुकीमा राखेको त्यो
तिमीले बिहेमा दिएको सिंदुरले सिउँदो
मेरो भरिदिनु ।

त्यो तिमीले बिहेमा दिएको दोपट्टा सारीले
यो मेरो शरिर ढाकिदिनु,
मृत मेरो नयनमा गाजलको कोश निकाली
अति सुन्दर हुनेगरि सजाइदिनु ।

म जिउँदो छउन्जेल नपाएको मान–सम्मान
पनि तिमीले त्यही प्रकट गरिदिनु,
जीवरभर पीडायातना भोगिरहेकी मैले
आँसु पिएर बाँचे नि मैले
लोक साक्षी भएपनि प्रकट गरिदिनु
देखावटी रुपमा भएपनि तिमीले गरिदिनु ।

झपक्कै गरगहनाहरुले मृत मेरो शिरलाई 
ढाकिदिनु, बाचुञ्जेल तिमीसँग केही मागिन्
ढिप्पी जिद्दी कहिले गरिन्
धनदौलत कहिले मागिन्
मेरो लाऊँ–लाऊँ र खाऊँ–खाऊँको
उमेर गयो त्यसै खेर
तिम्रो र सन्तानहरुको लागि
ज्यानै बलिदान दिए मैले
मेरो इच्छा अनि आंकाक्षाहरूलाई मारेर बसेँ
झुत्रोझुम्रो लगाई जुनी काटेँ मैले
महँगामहँगा गरगहना र
सारीले कहिल्यै सजिन् म
पाउमा जुत्ता राम्रो
लगाईन मैले
तर तिमीले कहिल्यै बुझेनौ
गृहलक्ष्मीको भनी कहिल्यै
पुजेनौ
जीवनभर गरेनौ कदर मलाई
सधै पैतालाको धुलो
सम्झी रह्यौ तिमीले मलाई
मिथ्या–आरोप लाञ्छना
लगाई बस्यौ
निर्दोषलाई दोषी साबित गरिरह्यौ
दण्ड निरअपराधमा दिइरह्यौ
चित्त सधै मेरो कुडाई रह्यौ
तिम्रो खेती जीवाभर त्यहीनै
भइरह्यो
सन्तानहरुसँग मिल्दै लात मारी
रह्यौ मलाई
मेरो खुशीमा केही गर्न दिइनौ
निरंकुश र नियन्त्रण लादि रह्यौ जहिले
मलाई ।

मेरो स्वतन्त्रतामा बाँच्न दिएनौ मलाई
सँधै चोट दिइरह्यौ मलाई
बलेको आगोमा झनै घिउ थपिरहेऊ
जति सम्झाउन खोजेपनि सुध्रिएनौ तिमी
भगवान् बनाउन खोजे बनेनौ तिमी
उल्टै प्रताडना दिइरह्यौ तिमीले मलाई
त्यसैले म भन्छु
देखावटी रुपमा भएपनि तिमीले
गरिदिनु
झलपक्कै गरगहनाहरुले मृत मेरो श्रिरलाई
ढाकिदिनु
सुन्दर मेरो मुहारमा सोह्र सिंगारले
धपक्कै बल्ने गरी सजाई दिनु
देवी दुर्गा माता झै र लालबिन्दी
टिका, रातो घुम्टी र रातो पहिरनले
चमचम हुनेगरी
सजाइदिनु
अति आकर्षक अति आकर्षक
मलाई बनाइदिनु
दीपहरु प्रज्ज्वलित गरिदिनु
म स्वर्गपुरीमा बसी नियालिरहनेछु
त्यो तिम्रो क्रियाकलाप
म स्वर्गपुरीमा बसी नियालिरहनेछु
त्यो तिम्रो क्रियाकलाप
मेरो मृत शरिरलाई
देखि तिमी नरुनू
गोहीको आँशु नझार्नु,
जिउँदो छनजेल नपाएको
मान –सम्मान मरेपछि
के काम ?


सरिता पोखरेल वाग्ले