उपन्यासकार कल्पना खरेलको नयाँ कृति रानीतलाउ प्रकाशित


उपन्यासकार कल्पना खरेलको नयाँ कृति रानीतलाउ प्रकाशित
   

काठमाडौँ । बाँके जिल्लालाई आफ्नो मूल थलो बनाएर नेपाली साहित्यका क्षेत्रमा सक्रिय साहित्यकार कल्पना खरेलले आफ्नो नयाँ कृति ‘रानीतलाउ’ उपन्यास प्रकाशनमा ल्याएकी छिन ।

उपन्यासमा नयाँ चेतना प्रस्तुत गरिएको छ । उनले समाजमा रहेका कुपरम्परा, जातिभेद, धर्मका नाममा हुने आडम्बरलाई उपन्यासमा प्रस्तुत गरेकी छिन् । उपन्यासमा सामाजिक विकृति र विसंगतिप्रति दरो प्रहार गरिएको छ ।

उपन्यासमा स्रष्टा खरेलले मानवीय प्रेमलाई उजागर गरेकी छिन् । यस कतिमा मानव जातिप्रति स्नेह, प्रेम र करुणाका भाव सल्बलाएका छन । स्वार्थ र अज्ञानताका कारण प्राणी जगतमा सर्वश्रेष्ठ मानिस आफूजस्तै मानवलाई अपमान गर्ने गर्दछ । सत्यका लागि संसारका सबै थोक छोड्नुपर्छ भन्ने भावविचार कृतिमा आएको छ ।

उनको यो उपन्यासले युवा-युवतीहरूको हृदयमा कहिल्यै नमर्ने जोश र उत्साह भर्ने काम गरेको छ । जीवनमा अचानक विभिन्न कठिनाइ आउँछन् तर तिनको समाधान वैज्ञानिक तरीकाले गर्न सकिन्छ भन्ने तर्क र उपायहरू उपन्यासमा पाइन्छ । कृतिमा मानिसको आत्मबल र दृढ इच्छाशक्तिका कारण उसले जीवनमा सफलताका नयाँ नयाँ बिन्दु पहिल्याउन सक्छ भन्ने भावको अभिव्यक्ति उपन्यासमा छ । मानव आत्माको कुनै जाति नहुने विचार आएको छ ।

यस अघि आधा दर्जन कृति प्रकाशित गरिसकेकी खरेलका ‘लभ इन जेरुसलेम’ उपन्यास, ‘समलिङ्गी सम्बन्ध’ उपन्यास, ‘रागिनी’ कथासंग्रह, ‘क्षितिजपारिका शब्दहरु’ गीतिसंग्रह, ‘कामना’ गीति एल्बम प्रकाशित छन् । खरेलको शब्दमा रहेको ‘सेतो कात्रोमा गोजी’ हुँदैन रचनालगायत दुई दर्जन गीतहरु समेत रेकर्ड भइसकेका छन् ।

उनको पछिल्लो कृति ‘रानीतलाउ’ मञ्जरी प्रकाशनले बजारमा ल्याएको हो । उनका अन्य कृतिजस्तै यो कृति पनि लोकप्रिय बन्ने विश्वास सहित नयाँ कृति प्रकाशनका लागि हार्दिक बधाई एवम् शुभकामना ।


डा पुष्करराज भट्ट 
प्रधानसम्पादक- लेखापढी डटकम