झापाको चिया बगानमा तीन किशोरी मृत अवस्थामा भेटिए


झापाको चिया बगानमा तीन किशोरी मृत अवस्थामा भेटिए

विर्तामोड- झापाको कचनकवल गाउँपालिका–५, बेल्ले गाउँमा रहेको चिया बगानमा तीन जना किशोरीको शब भेटिएको छ । तिन जना किशोरी बगान मै रहेको एक रुखमा  झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

आइतबार बिहान ७ बजे स्थानीय चिया बगानमा रहेको एक रूखमा झुण्डिएको अवस्थामा १६ वर्षीया करिना गणेश, कल्पना गणेश र १७ वर्षीया अञ्जली गणेशको शव भेटिएको गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले बताए।

 

राजवंशीका अनुसार चिया बगानमा मजदुरी गर्दै आएका उनीहरु शनिबार ११ बजेदेखि बेपत्ता थिए । ‘शनिबार बगान विदा थियो, तर उनीहरु त्यहाँ पुगेका रहेछन्’ , ‘रातिसम्म खबर नआएपछि प्रहरीलाई खबर गरिएको थियो, बिहान बगानमा काम गर्नेले शव देखेछन् ।’

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार दुई जना गाईवस्तु बाँध्न प्रयोग हुने डोरी र एकजना सलमा झुण्डिएको देखिएको छ । घटनास्थल नेपाल–भारत सीमा क्षेत्रमा पर्छ ।

प्रहरीले तीनै जनाको शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी गरेको छ । प्रारम्भिक छानबिनका क्रममा उनीहरुले आत्महत्या गरेको हुनसक्ने आशंका गरिए पनि कारण खुलेको छैन ।