भ्रष्ट पथ (कविता)


भ्रष्ट पथ (कविता)

किन रोचक देख्छु सधैं पथ यो ।
भतुवा र दलाल मिले रथको ।।
किन सुन्दर शान्त विकास दिने ।
पथ भ्रष्ट यहाँ सब आज चिने ।। १

धन दौलत माझ दलाल बिके ।
किन साधु बने किन चोर्न सिके ।।
मिहिका मनमा कसरी म हिँडौ ।
बलवान् तिमी कसरी म भिडौ ।। २

तिमी राज गरी बस हे डमरु ।
कविता लय,छन्द उनेर भरुँ।।
तमता सब तर्फ छरी खलले ।
जडता अब बाल्छु यहाँ बलले ।। ३

तपुषी मनमा कति बग्छ यहाँ ।
छ विकास नयाँ अब मिल्छ कहाँ ।।
मन कल्मष,शुद्ध छ ज्ञान भरी ।
अब भुर्भुर पङ्ख फिजाउ चरी ।। ४

पथ सात फिटे धन लाख लुटे ।
दलका भरिया सब देख्छु जुठे ।।
अब बोक्दिन है दलको पगरी ।
मन बाग फुलाउँछ यो लहरी ।। ५

नव ज्ञान छरौ म चिरी मिहिका ।
बदनाम सदैव हुनेछ फिका ।।
कविता गुलिया म छरौ रसका ।
गुणगान गरौँ म यहाँ कसका ।। ६

म त देख्दिन मान यहाँ किन खै ।
सब ज्ञान विवेक गरि चिन है ।।
अझ ताप पुगोस् यहाँ रविको ।
म त हेम र क्षेम बने कविको ।। ७


हेमराज पन्त
पाटन २ सिलंगा, बैतडी
हाल: पहलमानपुर, कैलाली
(साहित्यकार पन्त विभिन्न विधामा कबिता लेख्दै आउनुभएको छ, प्रस्तुत कविता “तोटक छन्द”मा लेखिएको छ । नियमित रुपमा साहित्यिक रचना पठाउनुभएकोमा हार्दिक आभार ब्यक्त गर्दछौ- लेखापढी डटकम )