हत्या मिश्रित यात्रा


हत्या मिश्रित यात्रा

काय भित्रको थैली
भर्ने पियुषको
आर्जन गर्न नसकेका
नेपाल आमाका
हर्कबहादुरहरु
आज
गुण्डा भएका छन्

गरिरहेछन्-
हत्या मिश्रित यात्रा।

अप्ठ्यारो पथ होस्,
या
अक्करे भिरका मुटु नै लुगलुग कमाउने
साँघुरा मार्ग-
कसैको घाटी रेटेर
काय भित्रको थैली भर्नको लागी गरिएको
यात्राको उत्कर्षमा टेकेपछिको
असीम आनन्दका तुलनामा
ती सबै फिक्का लाग्दैछन् उनिहरुलाई,

जबर्जस्त गरिरहेछन्-
हत्या मिश्रित यात्रा।

नियाल्दा लाग्छ-
हजारौं टनको
कठिनाइले पनि छेकिँएको छैन
हर्कबहादुरहरुका
हत्या मिश्रित यात्रा।

कठिनाई र संघर्षले नछेकेको
हर्कहरुको हत्या मिश्रित यात्रा
छेक्न सक्ने
शक्तिशाली तत्व रहेछ-
कागजको खोष्टा।

हत्या मिश्रित यात्राका निम्ति
कागजका बहुमुल्य खोष्टालाई
पछ्याउँदै छन् ऊनीहरु-
खोष्टाले
खल्तीमा इन्ट्री मार्न साथ
पक्का
छिनाल्ने छन्
थैली भित्र
राज गरिरहेकाहरुको
घाटी र गर्ने छन्
हत्या मिश्रित यात्राको इतिश्री।

तर
नेपालमा हर्कबहादुर हरुको
हत्या मिश्रित यात्राको
इतिश्री हुने दिन
पक्का पनि पश्चिमबाट
सुर्य उदाउने छ
र सुर्यले पनि भन्ने छ-
“आज म पनि अचम्मको खोलामा
डुबुल्की मार्दा मार्दै
गलत बाटो समातेर पो
धर्ती तिरको यात्रामा आएछु।”


आयुष बडाल