भानुभक्त प्रति श्रद्धाञ्जली (कविता)


भानुभक्त प्रति श्रद्धाञ्जली (कविता)

भाषा सेतु बनेर जन्मिन गयौ रम्घाचुदी गाउँमा ।
रोप्यौ वृक्ष हराभरा छ अहिले साहित्यका नाममा ।।
तिम्रो पौरख,ज्ञान सिञ्चित भयो साहित्य बुट्यानमा ।
पाकेका फलफूल मिल्दछ यहाँ साहित्य उद्यानमा ।।

तिम्रो सुन्दर भावना र रसिलो यी काव्य सारा पढी ।
आफैंमा भमरा बने म अहिले उक्लेछु हाङ्गा चढी ।।
चारैतर्फ छ कौमुदी शितलता चम्किन्छ आभा छरी ।
तिम्रो काव्य सुधा पियूष रस हो पिन्थे म आफैं भरी ।।

देख्थे आज निशा रुँदै तिमिरमा डाकी बिहानी पल ।
सच्चा ज्ञान बगाउँदै मगजमा पार्दै सफा निर्मल ।।
जस्को नाम छ भानुभक्त जगमा हौ भक्त के रामका ।
यो रामायण पाठ गर्छ जसले बुझ्थे कुरा धामका ।।

लेख्यौ काव्य समाजका सकलका आदर्शता ज्ञानका ।
आफैंमा कवि भानु पुँञ्ज सरिका साहित्य उद्यानका ।।
वेदी बन्दछ भानुको छ कविता सत्मार्ग दर्शाउने ।
साँचो भक्ति विवेक भाव रसको आनन्द बर्साउने ।।

ज्वाली हौ महनीय काव्य जगका साहित्यका साधक ।
लेख्यौ काव्य कला अनेक थरिका मान्दै नमानी धक ।।
जन्मायौ यस बाग बाङमयमा साहित्यका यी कली ।
जोडी यी कर शब्द पुँञ्ज कविता गर्दैछु श्रद्धाञ्जली ।।


हेमराज पन्त
पाटन २ सिलंगा, बैतडी
हाल: पहलमानपुर, कैलाली
(साहित्यकार पन्त विभिन्न विधामा कबिता लेख्दै आउनुभएको छ, प्रस्तुत कविता“शार्दूलविक्रीडित छन्द”मा लेखिएको छ । नियमित रुपमा साहित्यिक रचना पठाउनुभएकोमा हार्दिक आभार ब्यक्त गर्दछौ- लेखापढी डटकम )