‘कांग्रेस खच्चड, कम्युनिस्ट घटक पाखण्डी’: डा बाबुराम भट्टराई


‘कांग्रेस खच्चड, कम्युनिस्ट घटक पाखण्डी’: डा बाबुराम भट्टराई

काठमाडौँ- जसपा संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले जसपाको उनी पक्षधर नेता कार्यकर्ताको विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अन्य राजनीतिक दलबारे टिप्पणी गरेका छन् । उनले नेपालका सबै कम्युनिस्ट घटक दलहरुलाई ‘पाखण्डी’ भनेका छन् । विभिन्न झुण्डमा रहेका उनीहरु समग्रमा एउटै चरित्रका रहेका उल्लेख गरेका छन् । उनले कांग्रेसको विचारलाई ‘खच्चड’ भनेका छन् । 

कम्युनिस्ट पार्टीबारे उनको प्रतिवेदनमा छ,’सबै समूह सन् १९४९ मा गठन भएको नेकपाबाट फुटेर बनेका हुन । यी समूहहरु बीचको भिन्नता दार्शनिक तथा विचारधारात्मक हैन । केवल राजनीतिक कार्यदिशा, कार्यनीति र खासखास एजेण्डाको भिन्नता मात्रै हो । भन्ने एउटागर्ने अर्को जस्तो पाखण्डी चरित्र प्रदर्शनमा यिनीहरु उस्तै छन । अर्थात् व्यवहारवादी र जडसुत्रीय अवसरवाद यी सबै समूहको साझा चरित्र हो ।’ 

कम्युनिस्ट भन्दा कांग्रेसको बारेमा थोरैमा मात्र उनले प्रतिवेदनमा टिप्पणी गरेका छन् । उनले भनेका छन्-‘दस्तावेजमा यसले ‘प्रजातान्त्रिक समाजवाद’ लेख्ने गर्दछ । तर, उसको नीति, कार्यक्रम र व्यवहारमा ‘समाजवाद’ अहिलेसम्म कहीँ कतै देखिएको छैन । यस पार्टीले भन्ने गरेको ‘प्रजातन्त्र’ पनि पुरानो, ठिमाहा वा खच्चड, संसदीय र औपचारिक लोकतन्त्रमात्र हो ।’ 

अन्य दलबारे भट्टराई प्रतिवेदनको अंश यस्तो छ:

नेपालमा दर्जनौं कम्युनिष्ट समूह छन । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा ( एकिकृत समाजवादी) ठूला कम्युनिष्ट समूह हुन । साना कम्युनिष्ट पार्टीमा नेमकिपा र नेकपा मसालको मोर्चा संगठन राष्ट्रिय जनमोर्चाले संसदमा प्रतिनिधित्व गर्दछन । संसदमा नभएका नेकपाका अन्य घटकहरु बैध, बिप्लब, आहुति, माले आदि अनेक समूहहरु छन् ।

यी सबै समूहको विचार र उत्पतिको आधार एउटै हो । यी सबै समूह कार्ल माक्र्स र फ्रेडरिख एंगेल्सले सन् १८४८ मा लेखेको ‘कम्युनिष्ट घोषणा पत्र’ लाई वैचारिक आधार मान्ने दलहरु हुन । यी सबै समूह रुसी अक्टोबर क्रान्ति, सोभियत प्रणाली, चिनियाँ ‘नयाँ जनवादी क्रान्ति’ र माओ त्से तुङ विचारधाराबाट प्रभावित छन । यी सबै समूह सन् १९४९ मा गठन भएको नेकपाबाट फुटेर बनेका हुन । यी समूहहरु बीचको भिन्नता दार्शनिक तथा विचारधारात्मक हैन । केवल राजनीतिक कार्यदिशा, कार्यनीति र खासखास एजेण्डाको भिन्नता मात्रै हो । भन्ने एउटागर्ने अर्को जस्तो पाखण्डी चरित्र प्रदर्शनमा यिनीहरु उस्तै छन । अर्थात् व्यवहारवादी र जडसुत्रीय अवसरवाद यी सबै समुहको साझा चरित्र हो ।

सन् १९९० को दशकमा सोभियत संघको पतनपछि एमालेले ‘जनताको बहुदलीय जनवाद’ मार्फत् ‘संसदीय प्रणाली’ को बाटो समात्यो र विस्तारै करिब कांग्रेसजस्तै जस्तै बन्न पुग्यो । एमालेको जस्तो विचारलाई विश्व राजनीतिमा ‘युरो कम्युनिज्म’ भन्ने गरिन्छ, जसको अर्थ उदारपुँजीवादी संसदीय लोकतन्त्रबाटै समाजवाद, साम्यवाद ल्याउँन सकिन्छ भन्ने विश्वास हो ।

माओवादी केन्द्रले हिजो माओवाद, एक्काइशौं शताब्दिको जनवाद, प्रचण्डपथजस्ता विचारको कुरा गथ्र्यो । एमालेसंगको एकता, नेकपा ( नेकपा ) को निर्माण र सहकार्यको करिब साँढे ३ बर्षको अबधिमा यो पार्टी एमालेजस्तै ‘जनताको बहुदलीय जनवादी’ बन्यो । पुनश्च विभाजनपछि यसले आफूलाई फेरि ‘माओवादी’ भन्न थालेको छ । यो ब्राण्ड मात्रै हो कि विचारधाराले नै माओवादी हो भन्ने प्रश्न गर्न सकिन्छ । औपचारिक रुपमा ‘जनताको बहुदलीय जनवाद’ स्वीकार नगरे पनि त्यसभन्दा फरक कुनै मौलिक विचारधारा माओवादी केन्द्रसंग बाँकी देखिँदैन ।

नेकपा (एकिकृत समाजवादी) को विचार, सिद्धान्त र एजेण्डा के हो, त्यो एमाले र माओवादी केन्द्रसंग के कति कारणले समान वा फरक छ भन्ने अझै प्रष्ट छैन । केपी शर्मा ओलीको कार्यर्शली र असंवैधानिक संसद विघठनसंग विमति राखेर एमालेबाट फुटेको दल मात्र भएको हुँदा यसको विश्लेषण पद्धति आधारभूत रुपमा एमालेको जस्तै छ । यो दलले कुन बाटो रोज्छ, यसको राजनीतिक भबिष्य के कस्तो हुन्छ अझै केही समय पर्खेर हेर्नु पर्दछ ।

यी तीन वटै ठूला कम्युनिष्ट समूह शास्त्रीय जडता र व्यवहारिक स्खलनको अनौठो स्थितिमा पुगेका छन। आफूलाई कम्युनिष्ट भन्छन, कम्युनिष्ट शब्दप्रतिको जनताको मोहको शोषण पनि गर्दछन तर कम्युनिष्ट बाँकी छैनन तर, छोड्न पनि सक्दैनन । शास्त्रीय साम्यवादको सिद्धान्तले अब कुनै काम गर्दैन भन्ने यिनलाई थाहा छ तर पुरानो ब्राण्ड नाम विना चुनावमा भोट नपाउँने डरले भन्न डराउँछन । व्यवहारमा भने यी कुनै पनि समूह कांग्रेसभन्दा फरक छैनन ।

यसरी नेपालमा कांग्रेस र कम्युनिष्ट एउटै सिक्काका दुई पाटोजस्तो बन्न पुगेका छन । दुबै दलले वर्तमान संविधानलाई संसारको उत्कृष्ट संविधान भन्दै दीपावली गरेका थिए । दुबै दल संघीयता, समावेशिता, प्रत्यक्ष, सहभागितामुलक लोकतन्त्र, समानुपातिकता, सकारात्मक विभेद, सामाजिक न्याय, सीमान्तकृत समुदायको आरक्षण, उत्पीडित राष्ट्रियताहरुको पहिचान, अधिकार र मुक्तिको प्रश्नमा उस्तै र उत्तिकै अनुदार देखिन्छन । कांग्रेसले अभ्यास गरिरहेको नवउदारवादी अर्थनीतिभन्दा फरक एमाले, माओवादी र एसमाजवादीले कुनै तात्विक भिन्नता भएको अर्थनीति प्रस्तुत गर्न सकेका छैनन ।

साना बामपन्थी वा कम्युनिष्ट समूहरुमा कुनै उल्लेखनीय नयाँ विचार र सृजनशील क्षमता देखिएको छैन । तिनीहरुसंग देशको राजनीतिक कार्यदिशालाई प्रभावित गर्न सक्ने क्षमता पनि देखिन्न । शास्त्रीय साम्यावादको विश्व असफलतापछि पनि पुरानै वैचारिक आग्रह छोड्न नसकेको कारणबाट उत्पन्न कुन्ठा, निरासा, हतासा, विम्रभ र उद्धिग्नताबाहेक साना बामपन्थी समूहसंग थप कुनै गुण देखिन्न ।

नेपालका सबै साम्यवादी समूहका साझा समस्या छन । नेपालका कम्युनिष्ट समूहहरुसंग अब कुनै आशा, अपेक्षा र भरोसा राख्न सकिन्न । आफै भ्रमित नेतृत्व, आन्दोलन र संगठनले देश र जनताको सही नेतृत्व गर्ने कुरै हुँदैन । लोकतन्त्रको विश्वव्यापी मान्यताप्रति पनि यिनीहरु प्रतिबद्ध छैन । देशको सामाजिक विविधतालाई संवोधन गर्ने विधि संघवाद, समावेशिता, समानुपातिककता, बहुसाँस्कृतिकतावाद, सामाजिक न्याय, आरक्षणआदि सवालप्रति पनि बामपन्थी समूहहरु खासै सकारात्मक र प्रतिबद्ध छैनन् । कम्युनिष्ट समूहहरुबाट सन्तुलिन अन्तर्राष्ट्रिय सम्बन्ध र भूराजनीतिक जटिलताको संवोधन पनि संभव देखिन्न । नत यिनीहरुसंग कुनै ठोस आर्थिक नीति तथा विकास र संमृद्धिको मोडेल नै छ ।

समग्रमा बामपन्थी तथा कम्युनिष्ट समूहहरु देशको अग्रगामी रुपान्तरण, समतामुलक संमृद्धि र समावेशी विकासको मार्गमा जानेर, नजानेर व्यवधानजस्तो बन्न पुगेका छन। यिनीहरुले कित पूर्वी युरोपका पुराना कम्युनिष्ट पार्टीहरुले झैं बेलैमा आफूलाई नयाँ सोच, कार्यक्रम र नाममा रुपान्तरण गरी सहभागितात्मक समाजवादी धारा समात्न सक्नु पर्दछ कित आफ्नै पतनको प्रतीक्षा गर्नु पर्ने छ । यथास्थितिमा यिनीहरुको क्रमिक अवसान अपरिहार्य छ । जो रुपान्तरित हुन इच्छुक छन, उनीहरुसंग भने सहकार्य र एकताको प्रक्रियामा जान सकिन्छ ।