बानी सुधार्छौ भने… 


बानी सुधार्छौ भने… 
कोदो फापर जौ पिधेंर जतिले, खाए बडा सानले 
बाँचे वर्ष सयौं बिमार नभनी, त्यो शुद्ध खाद्यान्नले  ।
खाना पौष्टिक वायुमण्डल त्यसै, आनन्दकारी हुँदा 
पानी मूल मुहान जङ्गल हुँदा, उब्जाउ बारी हुँदा ।।
 
बृद्धा बालक हृष्ट -पुष्ट बलिया, हुन्थे ठुला ज्यानका 
ऐलेका जति छौं नयाँ युग सबै, विश्वास विज्ञानका ।
जान्छौं साँझ बिहान नै पसलमा, झोला भरी ल्याउँछौ 
पैसा सङ्ग विषाद युक्त कतिको, रोगी बनी आउँछौ ।।
 
रोप्दैनन् धनिया समेत अहिले, बाँझों छ बारी जति 
खोज्छन् स्वच्छ सफा र तागत दिने, खान्छन् विषादी कति ।
आफ्नै जैविक सागपात घरको, उत्कृष्ट त्यो भोजन 
कोरा कागजमा तटस्थ हुनगो, स्वादिष्ट त्यो व्यञ्जन ।।
 
आयुर्वेदिक ओखती छ घरमा, दैलो उघार्छौ भने 
बाँझो खेत हराभरा फसलले, जेजे उमार्छौ हुने ।
माटोमा सुन फल्छ बर्कत भए, यो चेतना फैलियोस् 
बोक्दै प्लास्टिक दौडिने पसलमा, बानी सधैँ अन्त्य होस् ।।
 
रक्सी जाड पिएर पान गुटखा, खाएर हिँड्छौ भने 
पैसाले सबथोक पाउँछ भनी, झन् रोग किन्छौ भने ।
मेरो भन्न उपाय छैन अरु क्यै, इच्छा छ गर्छौ भने
सादा जीवन उच्च बन्छ यदि यो, बानी सुधार्छौ भने ।।

केशव मडै
सुर्नया -५, बैतडी
हाल : युएई 
(नेपाली साहित्य विधामा निरन्तर कलम चलाउदै आएका केशब मडैले प्रस्तुत कबिता “शार्दूलविक्रीडित छन्द” मा लेख्नुभएको छ। – लेखापढी डटकम )