जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार, अबस्था नाजुक


जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार, अबस्था नाजुक

एजेन्सी- जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ । नारा सहरमा भाषण गर्दै गर्दा उनीमाथि गोली प्रहार भएको हो । जापानी सञ्चारमाध्यहरुले गोली लागेका पूर्वप्रधानमन्त्री आबेको शरीरबाट रगत बगेको र उनी ढलेको बताएका छन् । 

आबेको छातीमा गोली लागेको र उनलाई एम्बुलेन्समा हालेर लगिएको जनाएको छ । घटनास्थलमा रहेका एनएचकेका संवाददाताले यामातो साइदाइजी स्टेसनमा गोलीको आवाज सुनेको बताएका छन् । 

नारामा पुनः हुन गइरहेको निर्वाचनका लागि प्रचारप्रसारका क्रममा भाषण गरिरहेका उनलाई गोली प्रहार भएको हो । स्थानीय समयअनुसार बिहान साढे ११ बजे उनलाई गोली प्रहार गरिएको थियो ।

उनलाई गोली प्रहार भए लगत्तै प्राथमिक उपचार गरेर एम्बुलेन्समार्फत नजिकैको खुला स्थानमा लगिएको थियो र त्यहाँबाट प्यारामेडिक हेलिकोप्टरमा राखेर अस्पताल पुर्‍याइएको थियो । एनएचकेले दिएको जानकारी अनुसार अस्पताल पुर्‍याउँदासम्म बोलिरहेका उनी अहिले अचेत छन् । उनको अवस्था निकै गम्भीर रहेको बताइएको छ ।

आबेलाई गोली हान्ने ४२ वर्षीय तेत्सुया यामागामीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

आबे ६७ वर्षका थिए । उनले सन् २००६ देखि २००७ र सन् २०१२ देखि २०२० सम्ममा दुई पटक प्रधानमन्त्रीको कार्यकाल सम्हालेका थिए । 

आक्रमणकारी को हुन् ?

पूर्वप्रधामन्त्री आबेलाई गोली हान्ने ४१ वर्षीय यामागामी तेत्सुआलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको साथबाट बन्दुकसमेत बरामद भएको छ ।

गोली हानेपछि उनी भाग्ने कोसिस नगरेको र सुरक्षाकर्मीले घटनास्थल नजिकैबाट उनलाई नियन्त्रणमा लिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

उनी जापानको मेरिटाइम सेल्फ डिफेन्स फोर्सका पूर्व सदस्य हुन् । साथै उनले स्थानीय एक विश्वविद्यालयमा पनि पढाउँथे । मेरिटाइम सेल्फ डिफेन्स फोर्सलाई जापानको नौसेनाको रुपमा पनि चिनिन्छ । यो जापानको नेभल डिफेन्सका साथ कार्यरत जापान सेल्प–डिफेन्स फोर्सको समुद्री वारफेयर शाखा हो ।

गोलीकाण्डको भिडियोमा पूर्वप्रधानमन्त्री आबेलाई पछाडिबाट गोली हानिएको देखिन्छ । गोली लागेपछि उनी भुइँमा लडेको र रगताम्य भएको तस्वीर सामाजिक सन्जालहरुमा देखिन्छ ।