विवादमा मुछिएका अर्थमन्त्री शर्माले दिए राजीनामा, यी थिए मुख्य काण्ड?


विवादमा मुछिएका अर्थमन्त्री शर्माले दिए राजीनामा, यी थिए मुख्य काण्ड?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् ।

नेकपा एमालेको लगातारको विरोधका कारण संसद्ले छानबिन समिति बनाएको थियो । नेकपा एमालेले पूर्व अर्थमन्त्रीको हैसियतमा बयान लिन पाउनुपर्ने तर्क गर्दै शर्माले अर्थमन्त्रीको हैसियतमा सम्बोधन गर्न नपाउने अडान लिएको थियो ।

नेकपा एमालेका नेता योगेश भट्टराईले समिति बनेपछि संसदमा सम्बोधन गर्दै अर्थमन्त्रीको हैसियतमा सदनमा उपस्थित हुन नहुने र पूर्व अर्थमन्त्रीको हैसियतमा छानबिन समितिले बयान लिने बताएका थिए । 

भट्टराईले अर्थमन्त्रीले बोल्ने नैतिक हैसियत नभएको बताएका थिए । उनले अर्थमन्त्रीले राजीनामा दिएरमात्रै संसद्मा बोल्न पाउने बताए ।

“त्यसपछिमात्रै हामीले उहाँको भाषण सुन्छौं,” उनले भने, “अपराध संहिता आकर्षित भएको छ । साइबर ऐन आकर्षित भएको छ । उहाँमाथि कारवाही हुनैपर्छ ।” 

 रोष्ट्रममा पुगेका शर्माले अर्थमन्त्रीकै हैसियतमा सम्बोधन गर्ने बताएका थिए । उनले छानबिनका लागि मार्गप्रशस्त गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

समितिले दिएको सत्य तथ्यका आधारमा जवाफ दिने पनि बताएका थिए ।

“मेरो राजीनामा माग्ने सबैको सम्मान गर्दै राजीनामा दिएको छु,” उनले भने, “मैले गल्ती गरेको छैन । तपाईंहरु तथ्यमा गइदिनुहोला ।”

जेठ १४ गते राति अर्थ मन्त्रालयमा दुईजना अनधिकृत व्यक्तिको उपस्थितिमा निश्चित घरानालाई फाइदा पुग्नेगरी करका दर हेरफेर गरेको आरोप उनीमाथि पछिल्लोपटक लागेको थियो ।

त्यसअघि पनि उनीमाथि लगातार आरोप लाग्दै आएको थियो । सीमित उद्योगीलाई फाइदा पुग्नेगरी आयातमा छुट दिएको, सेनेटरी प्याडको आयातमा विभेदकारी नीति ल्याएको आरोप उनीमाथि थियो ।

नेपालमा अर्बौँ लगानीमा खुलेका सेनेटरी प्याडका कम्पनी शर्माले दिएको कर छुटका कारण बन्द हुने अवस्थामा पुगेका थिए ।

उनले विदेशबाट आयात हुने सेनेटरी प्याडको भन्सार घटाइदिएका थिए । बिचौलियाको प्रभावमा परेर उनले यस्तो काम गरेको आरोप थियो ।

त्यसैगरी प्रतिशोध राखेर गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेका थिए । पछि सर्वोच्चले उनलाई पुनस्थापित गरेको थियो ।

शर्माले अघिल्लो वर्ष प्रतिस्थापन विधेयकमार्फत् फलामे छड, जस्तापातालगायतका सामग्री उत्पादनका लागि आयात हुने कच्चा पदार्थमा पनि निश्चित कम्पनीलाई मात्रै फाइदा पुग्ने व्यवस्था गरेको भन्दै विरोध भएको थियो ।

उनीमाथि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासमा लिएर निर्णय गर्दै आएको आरोप थियो । जाँदाजाँदै शर्माले एमालेप्रति लक्षित गर्दै आफूले राष्ट्रघात नगरेको आरोप लगाएका थिए ।

“अर्थमन्त्रीकै हैसियतले बोल्न चाहन्छु,” उनले भने, “संसद दुईपटक विघटन भयो । हामीले यो बीचमा उतारचढाव भोग्यौँ । गम्भीर प्रकृतिका कामहरु भए । मैले संसद्मा आएर के कारणले बोल्न नपाउने ? मैले कोरोनामा छटपटिएका जनताविरुद्धमा काम गरेँ कि ! मैले बच्चाको दूधको रेट बढाएर चकलेटको रेट घटाएँ  ? के कारणले अनैतिक भएँ ?”