संघीयता खारेज गरौं, हिन्दु राष्ट्रको दियो निभ्न दिनुहुँदैन : कमल थापा


संघीयता खारेज गरौं, हिन्दु राष्ट्रको दियो निभ्न दिनुहुँदैन : कमल थापा

सुर्खेत- राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीयता खारेज गर्नुपर्ने बताएका छन् । प्रदेश सरकारलाई खारेज गर्दै स्थानीय तहलाई बलियो बनाउँनु पर्ने उनको तर्क रहेको छ ।

वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै वर्तमान अवस्थाको संघीयता सही नभएको बताएका हुन् । प्रदेश संरचनाको कुनै औचित्य नभएको उनको दाबी छ । 

‘संघीयताको वर्तमान स्वरूप परिवर्तन गर्न आवश्यक छ । प्रदेश संरचना खर्चिलो भयो, यस्को औचित्य पनि छैन । स्थानीय तहलाई बलियो बनाउँ । देशमा दुई तहको संघीयता आवयम छ,’ अध्यक्ष थापाले भने ।

अध्यक्ष थापाले बाह्य शक्तिको प्रभाव र धर्म परिवर्तनको डढेलोले सिंगो देशनै संकटमा पर्ने दाबीसमेत गरे । ‘विश्वमा सबैभन्दा बढी धर्म परिवर्तन हुने देशमा नेपाल परेको छ । धर्म परिवर्तनको डढेलोले हिन्दु राष्ट्रको दियो निभ्न दिनुहुँदैन । यसलाई समयमै नियन्त्रण गर्न आवश्यक छ,’ अध्यक्ष थापाले भने । 

नेपालमा करोडौं लगानी गरेर धर्म परिवर्तन गर्ने काम भइरहको अध्यक्ष थापाले बताए । लाखौँको दरले धर्म परिवर्तन हुँदा पनि सरकारले ध्यान नदिएको उनको ठहर छ । ‘म सरकारसँग माग गर्दछु, यसलाई समयमै रोकौँ । त्यसो नगरिए देशनै संकटमा पर्ने खतरा छ’ अध्यक्ष थापाले भने ।