असार पन्ध्र (कविता)


असार पन्ध्र (कविता)

आयो मास असार पन्ध्र घरमा काका बसे सानले ।
कालो कोट छ साथमा छ गमला रोपी बसे धान रे ।।
माला चन्दनले चिटिक्क सजिदै ओढेर खादा बसे ।
यस्तो सुन्दर धानको दिवस खै को खेतबारी पसे ।।

नेता बन्न कहाँ छ सख्त सजिलो माटो धुलौटे छ यो ।
रोपेको गमला भरिन्छ कसरी आश्चर्य नौलो भयो ।।
मेरा खेत सबै अनाज भरियो रोपी बसे शासक ।
जे देखे म त लेख्छु यो कलमले मान्दै नमानी धक ।।

ल्यायौ वाद अनेक यो मुलुकमा संस्कार तिम्रो धन ।
सम्झे खेत म देख्छु आज गमला के हो मलाई भन ।।
के नेपाल सुखी भयो भन तिमी देखिन्न केही तर ।
बेची देश सबै उमार गमला बाली तिमी नै छर ।।

यस्ता शासकको बयान कसरी गर्दैछ यो हेमले ।
मायामा किन देख्नु आपत सधैं चिन्थ्यो कहाँ क्षेमले ।।
आमोषी किन बन्छ शासक सधैं हेर्दा स्वयं प्रष्ट भो ।
आबाधा सहदै बसेछ जनता के दृश्य यो भ्रष्ट हो ।।

तिम्रो काम म देख्दथे अविहिती नारा उचाल्यौ तर ।
आफै खान्छ सधैं लुटी मुलुक जो बारी तिमी नै चर ।।
औंठा छाप म मात्र के मुलुकमा भेडा तिमी नै गन ।
देखे मास असार पन्ध्र रसिलो गोचन्दना नै बन ।।


  हेमराज पन्त
पाटन २ सिलंगा, बैतडी
हाल: पहलमानपुर, कैलाली
(साहित्यकार पन्त विभिन्न विधामा कबिता लेख्दै आउनुभएको छ, प्रस्तुत कविता “शार्दूलविक्रीडित छन्द”मा लेखिएको छ । नियमित रुपमा साहित्यिक रचना पठाउनुभएकोमा हार्दिक आभार ब्यक्त गर्दछौ- लेखापढी डटकम )