भानु जयन्ती समारोहमा नेपाली शिक्षा परिषद्ले पुरस्कार वितरण गर्ने


भानु जयन्ती समारोहमा नेपाली शिक्षा परिषद्ले पुरस्कार वितरण गर्ने

काठमाडौं- नेपाली शिक्षा परिषद्ले विगत साढे सात दशकदेखि नेपाली वाङ्मयको संवर्द्धनमा विशिष्ट योगदान पुर्‍याएवापत विद्वान् चित्तरञ्जन नेपालीलाई यस वर्षको ‘आदिकवि भानुभक्त पुरस्कार’ प्रदान गरिने जनाएको छ । उक्त पुरस्कारको राशी १ लाख २५ हजार रुपैयाँ रहेको छ । 

त्यस्तै, यस वर्षको ‘गोपाल पाँडे असीम पुरस्कार’ भाषा साहित्यको श्रीवृद्धिमा योगदान पुर्‍याउने रामप्रसाद पन्तलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको परिषद् अध्यक्ष रमा शर्माद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ ।

उक्त पुरस्कारहरु असार २९ गते २०९औँ भानु जयन्ती समारोहमा अर्पण गरिने परिषद्ले जनाएको छ ।