“डान्सिङ स्टार्स नेपाल” रियालिटी शोको उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीलाई प्राप्त


“डान्सिङ स्टार्स नेपाल” रियालिटी शोको उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीलाई प्राप्त

काठमाडौं । टेलिभिजन रियालिटी शो “डान्सिङ स्टार्स नेपाल” को उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जितेको छ । १५ लाख रुपैयाँ पुरस्कारसंगै  उपाधि  जितेर शुक्रबार राति उक्त  रियालिटी शो सम्पन्न भएको छ।

प्रीति आले मगर र शेखर घर्ती मगरको जोडीले फस्ट रनरअप हुँदै २ लाख रुपैयाँ जितेको छ भने परमिता राणा र जेडी तमुको जोडी सेकेन्ड रनरअप भयो । 

विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाललले पुरस्कार र ट्रफी प्रदान गरे । एपमार्फत शोमा सहभागीमध्ये सरस्वती धिमाल उत्कृष्ट भइन् । उनले शोको आगामी सिजनमा स्टारको रुपमा प्रतिस्पर्धा गर्ने मौका पाएकी छन् ।

गत जेठदेखि सुरु भएको प्रतिस्पर्धामा १२ जना सेलिब्रिटी र कोरियोग्राफर जोडीले भाग लिएका थिए । गौरी मल्ल, दिलीप रायमाझी र रेनशा बान्तवा राई निर्णायक रहेको शोको फिनालेमा गायिका प्रविशा अधिकारीले सांगीतिक प्रस्तुति समेत दिएकी थिइन् । उक्त रियालिटी शो लक्ष्मण पौडेलले निर्देशन गरेका हुन् । 

डान्सिङ स्टार्स नेपाल हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको थियो ।