खै हाम्रो पहिचान 


खै हाम्रो पहिचान 
भाषा भेष र धर्म खै मुलुकको, ए राष्ट्रवादीहरु !
खै हाम्रो पहिचान विश्व भरिमा, हे आत्मघातीहरु !!
हाम्रा वेद पुराण शास्त्रहरु खै, जो विश्व विख्यात छन् !
हाम्रा रीतिरिवाज खै चलन खै, जो शास्त्रमा प्रख्यात छन् !!
 
त्यो दौरासुरुवाल खै सदनमा, खै माथको ताज खै ?
गोर्खाली इतिहास खै समरको, ओम् शान्तिको राज खै ?
बन्दैछौ कि गुलाम आज अरुकै, शर्मिन्दगी लाज खै ?
पूर्खाको जति योगदान गरिमा, नेपालमा आज खै ?
 
रातो सिम्रिक रंग खै बल दिने, साम्राज्य संग्रामको ?
फेर्दैछौ किन रंग यो भन तिमी, पाश्चात्यका नामको ?
डाँफेको महिमा कहाँ छ भन खै, ए देशका शासक ?
यो उद्घोषण चिन्हको गर तिमी, सच्चा भए साधक ।
 
गाई राष्ट्रिय जन्तु छन् सडकमा, खै आज संरक्षण ?
होला बंश विनाश निश्चय यहाँ, देखिन्छ यै लक्षण ।
हाम्रो राष्ट्रिय फूल खै कुसुमको, देखिन्न नेपालमा ?
के हो राष्ट्रिय धून खै किन यहाँ बज्दैन यो तालमा ।
 
के हुन् राष्ट्रिय चिन्ह अङ्कित गरौं हाम्रा परापूर्वका ?
धेरै शाब्दिक अर्थ दिन्छ जसले, औचित्य छन् गर्वका ।
जे छन् मौलिक चीज यो मुलुकका, हुन् राष्ट्रका गौरव  ।
बेच्दैछौ किन आज यो डलरमा, यो देशको वैभव ।

केशव मडै
सुर्नया -५ मडगाउँ बरायल, बैतडी
हाल: युएई
(प्रस्तुत कविता  “शार्दूलविक्रीडित छंद” मा लेखिएको छ)