मानवतामा विकृति


मानवतामा विकृति

मनुको महलै धनकी नगरी।
घुसखोेर बढे नव चोर सरी।।
मन चोर यहीँ धन खोर यहीँ ।
सुकिला मुकिला सब चोर यहीँ ।।

अब भाव नयाँ कविता धनका।
बिपनी छ धिमा सपनी मनका।।
सब राज यहीँ सब काज यहीँ ।
घुस चोर र चाकर आज यहीँ ।।

सब काम यहाँ घुसका भरमा।
जनता थुनियौ पिजडा करमा।।
सुकिला जति ती बलवान् सरी।
बहुतै सुविधा धनकी नगरी।।

न त बालक बृद्धले लेख्छ यहाँ ।
घुस खा सबले न त देख्छ यहाँ ।।
खुब खाउ पचाउ खुने नडरी।
छ त अन्त कतै सुविधा यसरी ।।

बलवान बने घुस खाइ यहाँ ।
नदिई नहुने न त मिल्छ घृणा।।
जब दाम दियो तब काम हुने।
रित कानुन वा विधिले नहुने।।

दल तीन थियो छल चार भयो।
जनता सब पात र झार भयो।।
सुख भोग भयो धनकी नगरी।
धनको गुणगान गरौ कसरी।।

धन दौलतमा सुख संपतिमा।
झगडा हुन गो नव दंपतिमा।।
लठ बालकले पुजने नगरी ।
छ त तिम्रो त्यहाँ सुबिधा यसरी।।

नव भाषणमा मनुवा डुलथे।
झन कामुक ती भमरा झुलथे।।
लठ मानवको जब साथ भयो।
तब जीवन नै बरवाद भयो।।

हुल हुज्जतमा डुलथे युवती।
घुमथे शहरै नलजाइ रती।।
सठ चोर मिली पुजने नगरी ।
अब छैन कतै सुबिधा यसरी ।।


हेमराज पन्त
पाटन-२ सिलंगा, बैतडी
हाल-पहलमानपुर, कैलाली
(साहित्यकार पन्त विभिन्न विधामा कबिता लेख्दै आउनुभएको छ, प्रस्तुत कविता “तोटक छन्द”मा लेखिएको छ । नियमित रुपमा साहित्यिक रचना पठाउनुभएकोमा हार्दिक आभार ब्यक्त गर्दछौ- लेखापढी डटकम )