काँग्रेसले कहिल्यै जित्न नसकेको क्षेत्रबाट चुनाव लड्न तयार छु : विनोद चौधरी


काँग्रेसले कहिल्यै जित्न नसकेको क्षेत्रबाट चुनाव लड्न तयार छु : विनोद चौधरी

काठमाडौँ- उद्योगपति एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले अब पूर्णकालीन राजनीति गर्ने बताएका छन् ।

शुक्रबार ललितपुरस्थित भिभान्त होटलमा काँग्रेस बिटमा रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले भने– ‘अब मेरो बाँकी जीवन राजनीतिमा बित्छ । ३० वर्ष व्यवसाय र राजनीति गरेँ । अबको राजनीति नेपाली काँग्रेस बाटै हुन्छ । काँग्रेसमा काम गर्न दिएन वा गर्न सकिनँ भने पनि काँग्रेसबाट राजनीति विश्राम लिन्छु । त्यसैले खुला ढोकाबाट राजनीतिका लागि अगाडि बढेको छु ।’  चौधरीले अबको राजनीतिक जीवन काँग्रेसमै बिताउने समेत स्पष्ट पारे ।

उनले आगामी संघीय निर्वाचनमा नवलपरासीबाट सांसद बन्ने तयारीमा रहेको सुनाए । उनले भने, ‘आगामी संघीय निर्वाचनमा नवलपरासीबाट सांसद बन्ने तयारीमा छु । त्यही अनुसार जिल्लामा आउजाउ पनि गरिरहेको छु ।’  

२०७४ सालमा एमालेले शशांक कोइरालाको क्षेत्रमा  चुनाव लड्न टिकट दिएको स्मरण गर्दै उनले आफुले सो क्षेत्रबाट चुनाव नलडेको बताए । ‘म लडिनँ । उहाँको (कोइरालाको) निर्वाचन क्षेत्रमा चुनाव लड्न म लागेन । बरु म काँग्रेसमा आएँ । कोइराला परिवारसँग हाम्रो परिवारको पुरानो सम्बन्ध छ ।’

चौधरीले काँग्रेसले कहिल्यै जित्न नसकेको क्षेत्रबाट चुनाव लड्न तयार रहेको समेत बताए । ‘तर यो कुरा पार्टीको निर्णयमा भर पर्छ । पार्टीले टिकट दिएन भने काँग्रेसका उम्मेदवारलाई जिताउन लाग्छु’ उनले भने ।