बैगुनी जेठ


बैगुनी जेठ

बनी घाम तातो तिमीले सतायौ ।
सुके मूल खोला धरा यी ततायौ ।।
बसे जीव सारा सही घाम गर्मी ।
म देख्दै छु शीला बनेको छ धर्मी ।।

धुलौटे धरामा छ आगो बलेको ।
थियो ज्यानमा चैन सारा ढलेको।।
नता भोक केही नता प्यास केही ।
थियो नर्क झैँ यो नता आस केही ।।

जता जाँऊ भन्दैछ गर्मी छ धेरै ।
बलेको छ अग्नी प्रभामा सबेरै ।।
चरा,जीव,प्राणी छरी व्योम तातो।
छ मान्छे बिरानो उडेको छ सातो।।

बसी मेघमाला जहाँ सल्बलायो ।
थियो कष्ट बाधा यहाँ चल्मलायो।।
बहेको छ हावा सधैं ताप बोकी ।
गुनासो बढेको थियो जेठ रोगी ।।

नता शीत पोख्ने नता प्रीत जोख्ने ।
थियो प्राण बाँकी कहाँ पीर पोख्ने ।।
बुझी लोक कारा चली काम धन्दा।
तिमी घाम तातो हिजोआज भन्दा।।

मनैमा छ भग्नाश पीडा छ लाखौं ।
थियो जेठ तातो कहाँ आज भागौ।।
उडी कल्पनामा सधैं घाम देखे ।
यहाँ हेमले बैगुनी जेठ लेखे ।।


हेमराज पन्त
पाटन-२ सिलंगा, बैतडी
हाल:-पहलमानपुर, कैलाली 
(साहित्यकार पन्त विभिन्न विधामा कबिता लेख्दै आउनुभएको छ, प्रस्तुत कविता “भुजङ्गप्रयात छन्द”मा लेखिएको छ । नियमित रुपमा साहित्यिक रचना पठाउनुभएकोमा हार्दिक आभार ब्यक्त गर्दछौ- लेखापढी डटकम )
साहित्यकार  पन्त का अन्य रचनाहरु-  सार्वभौम जनता   
कालो गुफामा पसे (कविता) /शार्दूलविक्रीडित छन्द/