कुष्ठरोगको उपचार टेकु अस्पतालमा सुरु


कुष्ठरोगको उपचार टेकु अस्पतालमा सुरु

काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु)ले कुष्ठरोगको उपचार सुरु गरेको छ । अस्पतालमा भएका जनशक्तिलाई तालिम दिएर कुष्ठरोगको सेवा सञ्चालनमा ल्याइएको हो ।

‘हामीले दुई महिना अघिबाट सेवा सञ्चालनमा ल्याएका थियौं । तर, औपचारिक रुपमा सेवा सञ्चालन गरेको एक हप्ता भयो,’ सूचना अधिकारी गौतमले भने,’ दुई महिनाको अवधिमा १० जना कुष्ठरोगीलाई परिचाहन गरी उपचारमा ल्याएका छौं ।’

यसअघि ललितपुरको टीकाभैरवस्थित आनन्दवन अस्पतालमा कुष्ठरोगको उपचार हुँदै आएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा कुष्ठरोगलाई जनस्वास्थ्यको समस्या नभएको घोषणा गरिए पनि १७ जिल्लामा अझै यो रोग देखिएको छ। जसमा उदयपुर, रूपन्देही, महोत्तरी, बर्दिया, रौतहट, मोरङ, नवलपरासी पश्चिम, सिराहा, कपिलवस्तु, अछाम, कैलाली, झापा, सर्लाही, पर्सा, बाँके, बारा र धनुषामा कुष्ठरोग समस्या देखिदैं आएको छ ।

‘विभिन्न अस्पतालहरुले शंका लागेर रिफर गर्ने गरेका छन् । हामीले कुष्ठरोगीहरुलाई उपचार, औषधि, परीक्षण, भर्ना सबै सेवा दिन्छौं,’ गौतमले थपे,’ काठमाडौं बाहिरबाट सल्लाह लिर्नुपरेको अवस्थामा टेलिमेडिसिन सेवा सञ्चालनमा गरेका छौं ।’

उनका अनुसार बिरामीको बायोप्सीका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग सहकार्य गरेको छ। बिरामीमाथि हुने सामाजिक भेदभावका कारण पनि रोग नियन्त्रण चुनौतीपूर्ण हुँदै गएको चिकित्सकहरूको भनाइ छ।

कुष्ठरोग माइक्रो ब्याक्टोरियन लिप्रे नामको किटाणुका कारणले हुन्छ । यो किटाणु सर्ने खालको हो, यो एक व्‍यक्तिबाट अर्को व्‍यक्तिमा सर्छ ।

कुष्ठरोगले मुख्यतः छाला, बाहिरी स्नायु, माथिल्लो श्वासमार्गको झिल्ली (म्युकोसा), आँखालाई प्रभावित गर्छ। मुख्यतयाः कुष्ठरोग श्वासप्रश्वासको माध्यमबाट सर्छ । बहुऔषधि उपचारले कुष्ठरोग निको हुन्छ। कुष्ठरोग प्रभावित व्‍यक्तिले औषधी उपचार गरेमा पूर्ण रुपमा निको हुन्छ ।

ठूलो दागले पूरा अंगलाई प्रभावित गर्न सक्छ। एक पिबी (पोजी ब्यासिलरी) अर्को एमबी (मल्टी) ब्याचिलरी । एमबी भए एक वर्ष र पिबी भए ६ महिना नियमित रूपमा औषधि सेवन गर्नुपर्छ।

बहुऔषधि उपचारको एक मात्रा औषधि सेवन गरेदेखि नै यसले शरीरमा भएको कुष्ठको ९९ प्रतिशत ब्याक्टेरियालाई निष्क्रिय बनाउने चिकित्सकहरू बताउँछन् । उपचार प्रक्रियामा आएर औषधि सेवन गरिरहेकाबाट कुष्ठरोग रोग अरुलाई सर्दैन।