बालेन साहले दुर्व्यवहार गरेको भन्दै पत्रकार महासंघको आपत्ति


बालेन साहले दुर्व्यवहार गरेको भन्दै पत्रकार महासंघको आपत्ति

काठमाडौँ- नेपाल पत्रकार महासंघले काठमाडौं महानगरपालिकाका मेयर (प्रमुख) बालेन साहले हिमालय टेलिभिजनका पत्रकारमाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ ।

बुधबार दिउँसो १ः०० बजे टेकुस्थित वातावरण विभाग पुगेका टेलिभिजनका पत्रकारद्वय प्रिन्स मिश्र र अष्भिट लामालाई साहले बुम र क्यामेरा देख्नेवित्तिकै दुर्व्यवहार गर्दै खिचिएका सामग्रीसमेत मेटाउन लगाएको महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

महानगरपालिकाले डम्पिङ साइडबाट सञ्चालन गर्ने ग्यास प्लान्ट र फोहोरको अवस्थाबारे समाचार संकलनका लागि पत्रकारद्वय त्यहाँ पुगेका थिए । स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारलाई महानगरपालिकाका प्रमुखजस्तो व्यक्तिबाट यस किसिमको हर्कत हुनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको महासंघको ठहर छ ।

महासंघले संविधानले सुनिश्चित गरेको पत्रकारको स्वतन्त्रता र अधिकारको ख्याल गरी यस्ता कार्य नदोहो¥याउन सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराएको छ ।