राज्यमन्त्री वलीलाई प्रहरीले पक्र्यो, एकराज मेरो पोइ हो भन्दै श्रीमती र छोरीलाई कुटिन्


राज्यमन्त्री वलीलाई प्रहरीले पक्र्यो, एकराज मेरो पोइ हो भन्दै श्रीमती र छोरीलाई कुटिन्

दाङ- लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीलाई प्रहरीले पक्राउ गरेको छ । उनले एक महिला र उनकी छोरीलाई घरमै पुगेर कुटपिट गरेपछि आफन्तले प्रहरी बोलाएका थिए । 

तलुसीपुर उपमहानगरपालिका ५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर मन्त्री वलीले श्रीमती मिना र उनकी छोरीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । 

राज्यमन्त्री वलीले हातपात गरेको खबरपछि स्थानीयले बस्नेतको घरमा नै उनलाई थुनेर राखेका थिए । अहिले राज्यमन्त्री वलीलाई तुलसीपुर प्रहरीले नियन्त्रणमा लिएको एसपी सुरेश काफ्लेले जानकारी दिए ।

इप्रका तुलसीपुरबाट प्रहरी टोली आएर विमलालाई नियन्त्रणमा लिएको छ ।गत वर्षको भदौमा विमला वलीले आफ्नो फेसबुक स्टोरीमा एकराजलाई चुम्बन गरिरहेको फोटो पोष्ट गरेकी थिइन् । उक्त तस्वीर सहितको समाचार नेपाल प्रेसमा प्रकाशित भएपछि विमला र एकराजले फोटोसप गरिएको दावी गरेका थिए ।

उनी व्यक्तिगत कामका लागि लु १ झ ५३७ नम्बरको सरकारी गाडी चढेर त्यहाँ पुगेकी थिइन् । घरमा पुग्दा भने एकराज त्यहाँ थिएनन् ।

मन्त्री वली एकराजको घरमा पुगेर बाहिरबाटै ‘गेट खोल्’ भन्दै चिच्याएको मीनाले जानकारी दिइन् । उनका अनुसार चिच्याएपछि गेट खोलिएको थियो ।

“बिहानै गेटमा आएर हल्लाउँदै गेट खोल् भन्दै चिच्याइन्,” मीनाले भनिन्, “बाहिरबाट ढोका खोल भन्दै चिच्याइरहेकी थिई । मैले ढोका खोलेँ । भित्र आउनासाथ मेरो एकराज खोई भन्दै कोठाको पर्दाहरु तानेर फालिदिइ । मैले किनिदिएको लुगा हो भन्दै मिल्काइदिइ । मेरो लुगा पनि च्यातिदिइ । अर्को कोठामा गएर स्कुल जान तयार भएकी मेरी छोरीलाई पनि हानिछे । एकराज मेरो पोइ हो भन्दै चिच्याएकी थिइ ।”