फिफा विश्वकप २०२२: कहिलेदेखि हुँदैछ र कतारले किन आयोजना गर्दैछ


फिफा विश्वकप २०२२: कहिलेदेखि हुँदैछ र कतारले किन आयोजना गर्दैछ

सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत अन्तिम दुईवटा खेल हुने स्थानबारे यसै साता निर्णय गरिने छ।

समान अङ्क भएका अन्तरमहादेशीय टोलीहरूबीच कतारको राजधानी दोहामा ‘प्ले-अफ’ खेल भइरहँदा ती स्थानबारे टुङ्गो लाग्ने छ।

आसन्न विश्वकप फुटबल प्रतियोगिता आउँदो नोभेम्बर महिनामा सुरु हुँदैछ।

फिफा विश्वकप फुटबल मध्यपूर्वमा हुन लागेको र यो समयमा पनि हुन लागेको पहिलो पटक हो। यद्यपि कतारमा विश्वकप फुटबल आयोजना गर्ने निर्णयले विवाद निम्त्याएको छ। 

विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत फाइनल खेलहरू नोभेम्बर २१ देखि डिसेम्बर १८ तारिखको बीचमा हुने छन्।

त्यो समयमा कतारको तापक्रम सामान्यतया २५ डिग्री सेल्सियस हुने गर्छ।

जुन र जुलाई महिनामा ती खेलहरू हुने भए त्यहाँको तापक्रम ४० डिग्री सेल्सियस नाघ्थ्यो र सम्भवतः ५० डिग्री सेल्सियससम्म पुग्थ्यो।

कतारले सुरुमा फाइनल खेलहरू गर्मीयाममा वातानुकूलित रङ्गशालाहरूमा खेलाउने प्रस्ताव गरेको थियो। तर त्यो प्रस्ताव अस्वीकृत भयो। 

जाडोयाममा प्रतियोगिता गराउन के समस्या छन्?

नोभेम्बर र डिसेम्बर युरोपेली फुटबल क्लबहरूका लागि व्यस्त महिना हुन् र धेरै खेलाडीहरूलाई आआफ्नो देशको निम्ति खेल्न कतार बोलाइने छ।

परिणाम स्वरूप विश्वकप फुटबल सञ्चालन हुनुभन्दा एक साताअघि इङ्ग्ल्यान्डको प्रिमियर लीग, इटलीको सिरी ए र स्पेनको ला लीगाजस्ता युरोपेली लीगहरू स्थगित हुने छन्।

ती प्रतियोगिताहरू विश्वकप फुटबल सकेपछि सञ्चालन हुने छन्।

विश्वकप सञ्चालनका लागि कतार किन चुनिएको हो?

विश्वकप फुटबल सञ्चालनका लागि सन् २०१० मा फिफामा भएको मतदानमा कतारले आयोजना गर्ने बाजी मारेको हो।

विश्वकप फुटबल सञ्चालन गर्न पाउने दाबेदारीमा उसले संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, जापान र अस्ट्रेलियालाई पछि पार्‍यो।

कतार विश्वकप फुटबल आयोजना गर्ने पहिलो अरब देश हुने छ।

विश्वकप आयोजना गर्न पाउने अधिकार पाउन कतारले फिफाका अधिकारीहरूलाई ३७ लाख अमेरिकी डलर घुस खुवाएको आरोप लागेको थियो।

तर दुई वर्षपछि त्यो आरोपमा उसले सफाइ पायो। फिफाका तत्कालीन प्रमुख सेप ब्लाटरले विश्वकप आयोजना गर्न पाउने कतारको प्रयासलाई सघाएका थिए।

तर त्यसपछि उनले फिफाले त्यो निर्णय गरेर गल्ती गरेको हुन सक्ने बताउँदै आएका छन्। 

छलछाम, हिनामिना र भ्रष्टाचारका अरू आरोपमा हाल ब्लाटरमाथि स्विटजरल्यान्डमा मुद्दा चलिरहेको छ।

विश्पकप फुटबल सञ्चालनका लागि आवश्यक पूर्वाधारहरू निर्माणमा संलग्न आप्रवासी कामदारहरूसँगै राम्रो व्यवहार नगरेको भन्दै एम्नेस्टी इन्टरन्याश्नल र ह्युमन राइट्स वाचले आरोप लगाएका छन्।

कुनकुन टोलीले खेल्दैछन् र लोकप्रिय कुनकुन छन्?

विश्वकप फुटबल २०२२ का लागि छनोट चरणका खेलहरू तीन वर्षअघि नै सुरु भएको थियो।

समूहगत खेलहरूमा विभिन्न देशका टोलीहरूबीच प्रतिस्पर्धा भयो र बढी अङ्क ल्याउने बलिया टोलीहरू सहभागी हुने सूचीमा समावेश भए।

समान अङ्क ल्याउने टोलीहरूबीच प्ले-अफ’ खेल भयो।

सन् २०१८ को विश्वकप फुटबलको उपाधि उचालेको फ्रान्स सहभागी हुन पाउने भएको छ भने अहिलेको युरोपियन च्यान्पिअन इटली विफल भएको छ।

प्रतिस्पर्धाका लागि विभिन्न ३२ वटा टोली छानिएका छन्। प्रत्येक समूहमा चारचार टोली गरी आठवटा समूह हुने छ।

फाइनल खेल जित्ने प्रत्यासी टोलीका रूपमा ब्रजिल, इङ्ग्ल्यान्ड, फ्रान्स र स्पेनलाई हेरिँदै छ। 

विश्वकपका प्रशंसकले कतारबाट के अपेक्षा गर्न सक्छन्?

उनन्तीस लाख जनसङ्ख्या भएको कतार विश्वका अति सम्पन्न देशमा पर्छ। तेल तथा ग्यास निर्यातलाई उसको सम्पन्न्ताको कारण मानिन्छ।

विश्वकप फुटबल प्रतियोगिताकै लागि भनेर कतारले सातवटा रङ्गशाला बनाएको छ भने फाइनल खेलका लागि एउटा सिङ्गो सहरकै विकास गरेको छ।

सयभन्दा बढी होटल, नयाँ मेट्रो तथा नयाँ सडकहरूको निर्माण भइरहेको छ। 

प्रतियोगिता आयोजक समितिका अनुसार करिब १५ लाख मानिस खेल हेर्न उपस्थित हुने अनुमान गरिएको छ।

कतार एउटा अनुदारवादी मुस्लिम देश हो र फुटबल प्रशंसकहरूलाई बेहोरालाई लिएर सचेत रहन भनिएको छ।

मदिरा सेवनसम्बन्धी कठोर प्रतिबन्धहरू छन्। सामान्यतया विलासी बार तथा होटलमा मदिरा किन्न पाइन्छ। एक पिन्ट बिअरको मूल्य १३ अमेरिकी डलर पर्छ।

यद्यपि विश्वकप आयोजकहरूले प्रतियोगिताका क्रममा तोकिएका अरू ठाउँमा पनि मदिरा खरिद गर्न सकिने बताएका छन्। 

समलिङ्गी अधिकारबारे कतारको अवस्था के छ?

कतारमा समलिङ्गी गतिविधि अवैध छ।

समलिङ्गी प्रशंसकहरूले आआफ्नो देशका सरकारलाई आफूहरूको सुरक्षा सुनिश्चित गराउन माग गरिरहेका छन्।

वेल्सका कतिपय फुटबल प्रशंसकहरूले आफ्नो टोली चयनमा नपरेपछि बहिष्कार गर्ने बताएका छन्।

विश्वकप फुटबल आयोजकहरूले चाहिँ “सबैलाई स्वागत छ” भनेका छन्, तर कतारले समलिङ्गीसम्बन्धी आफ्ना कानुनहरूलाई खुकुलो पार्ने छैन। 
बिबिसी नेपाली