र्‍याप गायक जी-बब र परिवारबीच तीन बुँदे सहमति, परिवारको अनुमतिमा बेगर कार्यक्रम गर्न नपाउने


लेखक : लेखापढी      ३० जेष्ठ २०७९, सोमबार २०:४९ मा प्रकाशित     
र्‍याप गायक जी-बब र परिवारबीच तीन बुँदे सहमति, परिवारको अनुमतिमा बेगर कार्यक्रम गर्न नपाउने

काठमाडौँ- र्‍याप गायक जी-बबको नामले चर्चित सुदिप भण्डारी र उनको परिवारबीच तीन बुँदे सहमति भएको छ। 

सोमबार उनीहरूबीच तीन बुँदे सहमति भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।  

जी-बब उनका बुवा राजकुमार भण्डारी र समर्पण समाज नेपाल कपनका सञ्चालक टासी लामाबीच परिसरमा छलफल भएको थियो।  त्यस छलफलपछि तीन बुँदामा सहमति भएको हो।  

सहमतिमा जी-बबको इच्छाअनुसार उनलाई समर्पण समाज नेपाल, कपनस्थित सुधार गृहमा राख्ने उल्लेख छ। त्यसमा उनलाई पनि अन्य व्यक्तिसरह नै राखिने सहमति भएको हो। 

दोस्रो बुँदामा केही समयको लागि जी-बबले चाहेको समयमा आमा-बुवालाई भेट गराउने व्यवस्था समाजले मिलाउने उल्लेख छ। 

तेस्रो बुँदामा भने कुनै पनि प्रकारको कार्यक्रममा भाग लिनुपरेमा आमा-बुवाको सहमति लिनुपर्ने उल्लेख गरिएको छ।