कुर्सी महिमा (कविता)


कुर्सी महिमा (कविता)

थियौ चोर जो जो बनेको छ कुर्सी ।
मिलेको छ लोप्पा झरेको छ फुर्ती ।।
गरी काम राम्रो यिमीले चिनायौ ।
थियो सत्यको वाद आफै छिनायौ ।।

यहाँ देश सारा बसेको छ रोई ।
भयो जिल्ल आफै खुसीमा छ कोही ।।
फलेको छ नारा हजारौं र लाखौं ।
थियो स्वाद कस्तो सबै आज चाखौ ।।

लिची रोप्न खोजे फलेको छ अम्बा ।
पसी राजधानी ढलेको छ खम्बा ।।
कहीँ आँप फल्दै थियो बोट सानो ।
बने देश घाती सबैको अचानो ।।

स्वार्थ मिल्ने बसे देश बाली ।
कला,धर्म,भाषा सबै यी पखाली ।।
छ कार्पेट रातो पँजेरो र गाडी ।
सही कष्ट कैयौं युवा पस्छ खाडी ।।

बने राज छोटे महाराज राजा ।
महङ्गी बढेको भयो देश धाँजा ।।
बिगार्ने तिमी हौ यहाँ नीति सारा ।
पुगे गाउँमा लुक्न ती भातमारा ।।

थियो राज कुर्सी बचायौ तिमीले ।
सबै देश बेची पचायौ तिमीले ।।
म गर्दैछु बिन्ती तिमी भाग्य दाता ।
पुजेको छु कुर्सी तिमी हौ बिधाता ।।


हेमराज पन्त 
पाटन-२ सिलंगा, बैतडी
हाल:-पहलमानपुर, कैलाली 
(साहित्यकार पन्त विभिन्न विधामा कबिता लेख्दै आउनुभएको छ, प्रस्तुत कविता “भुजङ्गप्रयात छन्द”मा लेखिएको छ । नियमित रुपमा साहित्यिक रचना पठाउनुभएकोमा हार्दिक आभार ब्यक्त गर्दछौ- लेखापढी डटकम )
साहित्यकार  पन्त का अन्य रचनाहरु-  सार्वभौम जनता   
कालो गुफामा पसे (कविता) /शार्दूलविक्रीडित छन्द/