भाइरल वडा अध्यक्ष मुकुन्द रिजालको घरमा पुगे बालेन साह


भाइरल वडा अध्यक्ष मुकुन्द रिजालको घरमा पुगे बालेन साह

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह महानगरको काम कारबाहीलाई सहज बनाउने उद्देश्यले वडा अध्यक्षहरूसँग छुट्टा-छुट्टै भेटघाटको सुरुवात गरेका छन् ।

आज शनिवार मेयर साहले वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाललाई भेटेका छन् । रिजालकै घर बालाजुमा भेट्न पुगेका साहले फोहोर व्यवस्थापनका साथै महानगरको काम कारवाहीमा सुझाव मागेका थिए । साहले रिजालको कार्यशैलीबाट आफु प्रभावित भएको भन्दै निरन्तर सहयोगको अपेक्षा गरेको बताएका थिए । 

कलाकार अर्जुन घिमिरे (पाँडे)सँगै रिजालको निवास पुगेका साहले झन्डै दुई घन्टा बिताएका थिए । लन्च सहितको सो मिटिङमा रिजालले फोहोर व्यवस्थापनमा नगर प्रमुखको सक्रियताको प्रशंसा गर्दै मेयरलाई सघाउन आफुले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् । यस्तै उनले आफुले पार्टीभन्दा माथि उठेर मेयरका जनमुखी र जायज अभियानमा सहयोग गर्ने बताए । 

रिजालले भने, ‘नगर प्रमुखज्युसँग छलफल भएको हो, महानगरपालिका केन्द्रित छलफल भयो ।’ यस्तै भेटमा सहभागी पाँडेले भने जनप्रतिनिधिहरूसँग परामर्श गर्ने नीतिअनुसार आजको भेटघाट भएको बताए ।

महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा प्रक्रियाको विषय सम्झाउँदा तोडफोड गरेर रिजाललाई सामाजिक सञ्जालमा भाइरल बनाइएको थियो । अध्यक्ष रिजालले आफु महानगरको हरेक काम कारबाहीमा आफु सदैब साथ दिने बताएका छन् ।