दरबारमार्गको ‘प्लाटिनम डिस्को’मा एक युवकमाथि ‘काभ्रेली समूह’को आक्रमण


दरबारमार्गको ‘प्लाटिनम डिस्को’मा एक युवकमाथि ‘काभ्रेली समूह’को आक्रमण

काठमाडौँ- दरबारमार्गको प्लाटिनम डिस्कोमा ‘काभ्रेली समूह’ले एकजना युवकलाई आक्रमण गरेका छन् । बालुवाटार बस्ने प्रतिष भास्कर सिंह बिहीबार बिहान साढे ३ बजेतिर  काभ्रेली समूहको आक्रमणबाट घाइते भएका हुन् । 

घटनाबारे प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दर्ता गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । ‘पीडितलाई न्याय र पीडतकलाई सजाय दिलाउने कार्यमा प्रहरी कटिबद्ध छ’ एसपी मैनालीले भने–‘गुण्डालाई टाउको उठाउन दिँदैनौँ ।’ जिल्ला प्रहरी जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयले त्यसबारे अनुसन्धान गरिरहेका छन् । उक्त प्लाटिनम डिस्को काभ्रे घर भएका सञ्जय लामा र  मिलन कार्कीले सञ्चालन गरेका हुन् । 

कुमार घैंटेको इन्काउन्टरपछि रात्रि क्लवहरुमा गुण्डागर्दीमा संलग्न समूहको ग्याङ वार बन्द भएको थियो । तर, पछिल्लो समय काठमाडौंमा गुण्डागर्दी मौलाएको सुरक्षा अधिकारीहरु बताउँछन् । आक्रमण गर्नेहरु बिरुद्ध पीडित सिंहको परिवारले प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दिएका छन् ।

आक्रमणमा काभ्रेको नमोबुद्ध नगरपालिका घर भएका सञ्जय लामा, कुलध्वज लामा उर्फ कुले र डलर भनेर चिनिने डलर लामा लगायत संलग्न रहेको बताइएको छ । ६–७ जनाको समूहले आक्रमण गर्दा घाइते सिंहको टाउकोमा ७ ओटा टाँका लगाइएको छ ।