धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर क्रिकेट एकेडेमीलाई प्राप्त


धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर क्रिकेट एकेडेमीलाई प्राप्त

धनगढी- क्लब स्तरीय टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर क्रिकेट एकेडेमीले जितेको छ । धनगढीको लिटल फ्लावर क्रिकेट क्लबलाई २२ रनले पराजित गर्दै महेन्द्रनगरले उपाधि कब्जा गरेको हो । 

विजेता बनेको महेन्द्रनगरले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको लिटल फ्लावरले १ लाखमा चित्त बुझायो । कैलालीको धनगढी स्थित प्रदेश प्रहरीको खेल मैदानमा शनिवार सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ थालेको महेन्द्रनगर क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको लिटल फ्लावरले १८.३ ओभरमा १ सय १८ रन मात्रै बनाउन सक्यो ।

विजेताहरूलाई एक समारोहकाबिच सुदूरपश्चिमका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका, होटेल डिभोटिका जनरल म्यानेजर हरिस भण्डारी, आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्स प्रा.लि. का अध्यक्ष रामचन्द्र शाही लगायतले पुरस्कार वितरण गरेका थिए ।