बालेन साह ६१ हजार ७६७  मत पाएर बिजयी, यस्तो छ उहाँको नालीबेली


बालेन साह ६१ हजार ७६७  मत पाएर बिजयी, यस्तो छ उहाँको नालीबेली

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन साह(बालेन्द्र) विजयी भएका छन् । लौरो चिह्नमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा लडेका बालेनले ६१ हजार ७६७  मत पाएर विजयी भएका हुन् ।

दोस्रो बनेकी गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८,३४१ मत प्राप्त गरिन् । सिर्जनालाई बालेनले २३,४२६ मतान्तरले पराजित गरेका हुन् ।

तेस्रो बनेका एमाले केशव स्थापितले ३८,११७ मत पाए । बालेनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहभन्दा २३ हजार ४२६ मत धेरै ल्याएका छन्। त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका स्थापितभन्दा २३ हजार ६५० मत बढी पाएका छन्।  

काठमाडौँ वडा नं ९ निवासी ३२ वर्षे बालेन पेसाले स्ट्रक्चरल इन्जिनियर हुन् । हिपहप गायकसमेत रहेका बालेनले काठमाडौंको मेयरमा उमेदवारी दिने घोषणा गर्दा धेरैले उनलाई उडाएका थिए । अन्तर्वार्ता लिनेहरूले पब्लिसिटी स्टन्ट भनेर पनि सोधे । उमेदवारी घोषणा गरेदेखि नतिजा आउँदासम्म शान्त, धैर्य देखिएका उनि बिबेकपूर्ण तार्किक अन्तर्वार्ता नै दिएको देखिन्छन, कहिले पनि उत्तेजित देखिएनन्। 

बालेनले शिक्षामा व्यापक सुधार गर्ने, इन्फ्रास्ट्रकचर एम्बुलेन्स, यातायात व्यवस्थापन, नगरप्रहरी बढाउने, सरसफाइ कर्मचारी थप्ने, १० हजार सीसीटीभी जडान गर्ने, सपिङ मललाई पार्किङ लटमा परिणत गर्ने जस्ता आधारभूत र महत्वाकांक्षी बुँदाहरू घोषणापत्रमा राखे । यिनै बुँदामा रहेर उनले पटक–पटक काठमाडौंलाई काठमाडौं नै बनाउनुपर्ने सिंगापुर होइन भन्दै भक्तपुर, ललितपुर र तिलोत्तमा नगरपालिकामा सम्भव छ भने यहाँ किन छैन भन्ने वकालत गरिरहे । 

यसबीच उनलाई एमालेका उमेदवार स्थापितले घरदैलो कार्यक्रममा फुच्चे भनेर हेपेनन् मात्रै मधेसी मूलको साहले ठकुरी शाह भन्दै ढाँटेको जस्ता विभेदपूर्ण लान्छना लगाए । 

एमालेकै उपमेयर उमेदवार सुनीता डंगोलले प्रणाली नै नबुझी मेयरमा उठेको र हारेपछि एम्पिथिएटरमा गीत गाउने अवसर दिने’ भन्दै कटाक्ष गरिन् । तर, उनले सबैको अपेक्षाविपरीत संयमित भएरै उत्तर दिए । बरू स्थापितले गर्दा ‘घरदैलो कार्यक्रममा चिनाउन सफल भएकोमा खुसी लागेको’ र ‘मेयरले गाउने र उपमेयरले ताली बजाउने हो’ जस्ता अभिव्यक्तिले सबैलाई मन्त्रमुग्ध बनायो । 

चस्मा र पोसाकमा चुनाबी पहिचान   

चुनावी अभियानभरि बालेनले लगाउने गरेको चस्माको चर्चा निकै भयो । टेलिभिजनमा अन्तरवार्ता दिँदा होस् वा मतदातासँग मत माग्न घरदैलो गर्दा होस्, उनले चस्मा लगाइरहे । कतिपयले उनको चस्माको तारिफ गरे भने कतिले आलोचना । तर, उनले चस्मा लगाउन छाडेनन् । उनलाई चर्चित बनाउन भूमिका खेलेको चस्माको माग बजारमा उच्च छ । ‘मेटल ग्लास’ भनिने उक्त चस्मा ग्राहकले ‘बालेन चस्मा’ भनेर किन्ने बढे । 

यस्तै, चुनावअघि अनौपचारिक पहिरनमा देखिने बालेनल लगाउने गरेको गाढा निलो कोटले पनि निकै चर्चा बटुल्यो । मत गणना १ र ३२ वडाबाट सुरु हुँदा उनले सुरुदेखि नै अग्रता लिए । सोही अग्रता झिनो मतको अन्तर फराकिलो हुँदै गएपछि सामाजिक सञ्जालमा मन पराउदैमा जित्दैनन् भनिरहेका स्थापितले भित्री बस्तीको मतगणना सुरु भएपछि जित्ने दाबी गरिरहे । तर, भित्री बस्तीमा समेत उनले प्रतिस्पर्धात्मक मत ल्याए । 

स्थापितको २८ वडामा बालेन २४ मतले मात्रै पछि परे भने सिंहको वडामा उनले सिंहले भन्दा दोब्बर मत ल्याए । बालेनले सबैभन्दा बढी मत भने वडा ३२, ३१ र १६ बाट पाए । यही मतले उनलाई यी दुई प्रतिस्पर्धीभन्दा भारी मतले जित दिलायो । 

मेयर बने पनि काठमाडौंमा शासन चलाउन उनलाई सजिलो हुने छैन । कतिले उनले महानगरपालिकाको नगरसभामा बजेट तथा एजेन्डा पास गर्न सक्दैनन्, कामै गर्न सक्दैनन् भनिरहँदा जितेका वडाध्यक्षहरूले भने स्थानीय सरकारको ऐनअनुसार काम गरे सहयोग गर्ने बताइसकेका छन् । 

बालेनले भने जस्तै आगामी दिनहरुमा महानगरको कार्य संचालन बिधि र कार्यान्वन गर्नमा कति सफल हुनेछन त्यो त हेर्न बाकि नै छ । काठमाडौँ महानगरका जनताले युवा मेयरलाई सदैब साथ् र सहयोग गर्नमा कति सफल हुनेछन जहाँ स्वतन्त्र कार्य होस भन्ने चुनौती रहेको समेत विश्लेषक बताउछन ।