भैरहवा- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको जजिरा एयरवेजको जहाज विमानस्थलमा रोकिएको छ । राति नै कुवेत फर्किनु पर्ने जहाजमा अवतरण गर्दा चरा ठोक्किएको आशंका गरिएको छ । जहाज राति पौने २ बजे अवतरण गरेको थियो ।
जहाजमा चरा ठोक्किएको आशंका गरिएको भएता पनि धावनमार्गमा कतै पनि अवशेषहरु देखिएका छैनन् । जहाजको बाहिरि भागमा रगतको छिट्टाहरु देखिएका कारण चरा इन्जिन भित्र घुसेको छ की भन्ने आशंकामा जहाज रोकिएको विमानस्थलका एक अधिकारीले जनाए ।
‘बाहिरी भागमा कुनै क्षति भएको छैन, अवतरण पनि सामान्य भएको थियो,’ ती अधिकारीले भने, ‘कतै इन्जिनको भित्रि भागमा चरा पुगेको छ की भन्ने आशंकाले जहाज रोकिएको हो ।’ उनका अनुसार काठमाडौंबाट इन्जिनियरहरु पुगेपछि जहाजको इन्जिनमा चेकजाँच गरिने छ । त्यसपछि मात्र जहाज उड्नेछ।