सुन्दरी प्रतियोगिता रोक्नुपर्ने, हद म्याद हटाउनु पर्ने माग


लेखक : लेखापढी      ९ जेष्ठ २०७९, सोमबार १४:४८ मा प्रकाशित     
सुन्दरी प्रतियोगिता रोक्नुपर्ने, हद म्याद हटाउनु पर्ने माग

काठमाडौं । नेकपा माओवादीकी सांसद अमृता थापाले सुन्दरी प्रतियोगिता रोक्नु पर्ने माग गरेकी छिन् ।

संसदको महिला तथा सामाजिक समितिको बैठकमा महिला हिंसा र बलात्कारजन्य अपराधमा हदम्याद सम्बन्धी विषयमा भएको छलफलमा उनले सुन्दरी प्रतियोगिता आयोजना नगरे बापत राज्यलाई कति घाटा पर्छ ? भनेर सरकारलाई प्रश्न गरिन् । 

शान्ति प्रक्रियामा आए लगत्तै माओवादी नेतृहरुले सुन्दरी प्रतियोगिता रोक्न भन्दै प्रदर्शन गरेका थिए । उनीहरुले मिस नेपालसहितका प्रतियोगिता रोक्नका लागि दबाव पनि दिएका थिए ।

‘बिगतमा पनि आफूहरुले सुन्दरी प्रतियोगिताको विषयमा गम्भीर भएर राज्यले सोच्नुपर्ने भनी आवाज उठाएका हौं, सुन्दरी प्रतियोगिता राज्यको हितका लागि छैन भने यसलाई रोक्न सक्नुपर्छ ।’ सांसद अमृता थापा भनिन ।  

सांसद थापाले बलात्कारको घटनामा एक वर्षभित्र उजुरी गर्नु पर्ने हद म्याद हटाउनु पर्ने बताइन् । ‘कानुनको अपुगता देखिएकाले तत्काल प्रचलित ऐन संसोधन गरौं र महिला हिंसा र हिंसाजन्य घटना वा बलात्कार जस्तो गम्भीर मानवता विरोधी कार्यमा हदम्याद नलाग्ने गरि ऐन बनाउँ । ’ 

‘मानवता विरोधी कार्य हो बलात्कार, यसमा हदम्याद राखियो भने एक वर्षपछि फेरि अपराध गर्न सक्छ । अपराधमा कुनै हदसम्म राखिनुहुन्न’, उनले भनिन् । कांग्रेस सांसद पुष्पा भुसालले महिला हिंसा सम्बन्धी सबै कानुनको पुनरावलोकन जरी रहेको बताइन् । उनले कानुनमै हदसम्म राख्ने कुरालाई तुरुन्तै हटाउनुपर्नेमा जोड दिइन् ।