काठमाडौँ- सामाजिक सञ्जाल टिकटक (sushikhanajaneho) अकाउन्टमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै उनले आफूलाई कार्यक्रमका आयोजक मध्येका एक व्यक्तिले जबरजस्ती करणी गरेको खुलाएकी हुन् । सन् २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीले आफूमाथि जबरजस्ती करणी भएको खुलासा गरेकी छन् ।
मिस ग्लोबल प्रतियोगितामा आफू पनि छानिएपछि आयोजक कन्सल्टेन्सीका सञ्चालकले आफूलाई सफलताको पार्टीका लागि बानेश्वरस्थित एभरेस्ट होटलमा बोलाएको युवतीले बताएकी छन्। आफू त्यहाँ पुग्दा सञ्चालकबाहेक कोही नभएको उनले बताएकी छन्।
भिडियोमा भनेकी छन् होटेलमा पुग्दा अरु कोहि नदेखेर सोध्दा ती सञ्चालकले ‘तिमी अलि छिटो आयौ, एकछिन बस, ५-६ बजेबाट पार्टी सुरू हुन्छ’ भनेका थिए। एकछिन बसेपछि उनले किशोरीलाई ‘लेमोनेड’ खान दिए।
‘लेमोनेड खाएको केही समयपछि रिंगटा लागेजस्तो भयो। अलि बिसन्चो जस्तो लागेर म घर जान्छु भन्दै निस्किन लाग्दा उनले रोके,’ ‘अहिलै नजाऊ, पार्टीमा केटीहरूले ड्रिंक गरेपछि उनीहरूलाई गाह्रो हुन सक्छ भनेर हामीले कोठा बुक गरेका छौं, त्यहाँ गएर आराम गर भनेर मलाई कोठामा लगे।’
यसपछि आफूलाई राम्ररी होस नभएको उनले बताएकी छन्। बीचबीचमा आफू ब्युँझिँदा पाण्डे थरका ती व्यक्तिले आफूलाई बलात्कार गरिरहेको उनले बताएकी छन्।
बिहान घर जाने बेलामा ती व्यक्तिले ‘यो कुरा कसैलाई नभन्नू, मसँग तिम्रो फोटो र भिडिओ छ, सार्वजनिक गरिदिन्छु’ भनेर धम्क्याएको पनि उनले बताएकी छन्। त्यति बेला आफू १६ वर्षको भएको पनि उनले बताएकी छन्।
पाण्डे थरका ती कन्सल्टेन्सी सञ्चालकले त्यसपछि छ महिनासम्म आफूलाई बलात्कार गरेको उनले बताएकी छन्।
उनले ६ महिनापछि आफ्ना साथीको सहयोगमा ती व्यक्तिको कन्सल्टेन्सीमै गएर सबै कर्मचारीका अगाडि यो घटनाबारे बताएको उल्लेख गरेकी छन्। ती व्यक्तिले पठाएका म्यासेज र कल रेकर्ड सबैलाई देखाएको पनि उनले बताएकी छन्।आफ्ना साथीले ती सञ्चालकलाई कुटपिट गरेको र उनले राखेको भनेका फोटो र भिडिओ हटाउन लगाएको युवतीले बताएकी छन्।
यो घटनापछि कामका लागि अर्को कन्सल्टेन्सी जाँदा त्यहाँ पनि यौन दुर्व्यवहार सामना गरेपछि आफूले मोडल बन्ने सपनै छाडिदिएको उनले बताएकी छन्।
त्यतिबेला उनले आफ्नो नग्न तस्वीर र भिडियो खिचेको र कसैलाई घटनाबारे बताए सार्वजनिक गरिदिने भन्दै धम्की दिएको उनले भनेकी छन् । ‘उसले अनलाइनमा साथी छ, त्यहाँ निकालिदिन्छु भनेको थियो,’ उनले भनेकी छन्, ‘त्यहाँ मैले लुगा लगाएँ, ब्याग लिएँ । उसैले ट्याक्सी बोलाइदिएको थियो ।’ धम्कीका कारण आफूले घटनाबारे कसैलाई भन्न नसकेको उनले बताएकी छन् । र, ६ महिनासम्म आफूमाथि पटकपटक बलात्कार भएको उनले बताएकी छन् ।
‘६ महिनासम्म जतिबेला उसलाई चाहिन्थ्यो, उसले कल गरिरहन्थ्यो,’ उनले भनेकी छन्, ‘यो अवधिमा म एकदमै ट्रमाटाइज्ड भएको थिएँ, मैले केही सोच्नै सकिरहेको थिइनँ ।’ यही घटनाको कारण आफू लामो समयसम्म डिप्रेसनमा गएको पनि उनले बताएकी छन् ।
उनले मोडल र अभिनेत्री बन्न चाहने नयाँ पुस्ताका किशोरी तथा युवतीलाई मान्छेहरू भेट्न जाँदा सुरक्षित भएर जान, एक्लै नजान सुझाएकी छन्।
आफूसँग भएका सबै प्रमाण आफूले धेरैपछि डिलिट गरिदिएकाले आफूलाई बलात्कार गर्ने ती व्यक्तिको थर मात्रै सार्वजनिक गरेको उनले भिडिओमा बताएकी छन्। यो घटनाबारे थाहा भएर पनि धेरैले आफूलाई सहयोग नगरेको उनले भिडिओमा भनेकी छन्। आफूमाथि भएको बलात्कारबारे बताउँदा एक पूर्व मिस नेपालले ‘तिम्रो समस्या हो’ भन्दै बेवास्ता गरेको युवतीले बताएकी छन्।
उनको भिडिओ सार्वजनिक भएपछि पूर्व मिस नेपाल शृंखला खतिवडाले भने ती युवतीमाथि भएको घटना सुनेर आफूलाई दु:ख लागेको बताएकी छन्। इन्स्टाग्राम स्टोरी र ट्विटमार्फत उनले आफू उनको साथमा रहेको बताएकी छन्। आफू लगायतको समाजले उनलाई सुरक्षा र उनीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्ने वातावरण दिन नसकेकोमा खतिवडाले दुख व्यक्त गरेकी छन्।