रौतहट मतदान केन्द्रबाट मतपेटिका लुटेर फरार भएका अभियुक्त पक्राउ


लेखक : लेखापढी      ६ जेष्ठ २०७९, शुक्रबार १६:३८ मा प्रकाशित     
रौतहट मतदान केन्द्रबाट मतपेटिका लुटेर फरार भएका अभियुक्त पक्राउ

काठमाडौं, ६ जेठ। प्रहरीले रौतहट मतदान केन्द्रबाट मतपेटिका लुटेर फरार भएका अभियुक्तलाई पक्राउ गरेको छ ।

प्रहरीले सो घटनाका मुख्य अभियुक्त यमुनामाई गाउँपालिका वडा नम्बर २ बस्ने ४६ वर्षीय चन्देश्वर बैठा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनका दिन यमुनामाई गाउँपालिका- २ स्थित श्री मावि भेडियाही स्कुलमा अवस्थित मतदान केन्द्रबाट मतपेटिका लुटपाट भएको थियो ।

प्रहरीले सो घटनाका मुख्य अभियुक्त चन्देश्वर बैठा भएको दाबी गरेको छ । अभियुक्तलाई घरमै लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  बैठामाथि निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कानूनी कारवाहीको लागि रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।