गोरखामा स्वतन्त्र उम्मेदवार: अरूको १ मत पनि पाएनन्, आफैँले हालेको भोट पनि भेटिएन


लेखक : लेखापढी      ५ जेष्ठ २०७९, बिहीबार १५:५९ मा प्रकाशित     
गोरखामा स्वतन्त्र उम्मेदवार: अरूको १ मत पनि पाएनन्, आफैँले हालेको भोट पनि भेटिएन

गोरखाको भीमसेन थापा गाउँपालिका–८ को वडाध्यक्ष पदमा स्वतन्त्र उमेदवार उठेका नवराज ढकालले अन्तिम मत परिणाम सार्वजनिक हुँदासम्म पनि १ भोट पनि पाएनन् ।

वडाध्यक्षमा उठेका ढकालकाे अन्तिम गणनासम्म कुनै पनि मत प्राप्त गरेनन । उनले  न त अर्काकाे मत पाए भने आफैले  हालेको भोट पनि हरायाे ।

ढकाल चुनाव चिन्ह ‘खानेपानीको धारा’ लिएर चुनावी मैदानमा होमिएका थिए । राजनीतिप्रति वितृष्णा जाग्दै गएपछि स्वतन्त्र उम्मेदवारी दिएका ढकाललाई वडाबाट १ मत पनि प्राप्त भएन । 

१४६९ मत खसेकोमध्ये उनले १ मत पनि नपाएका हुन् । मतगणना सकियो । माओवादी केन्द्रका उम्मेदवार बिष्णु कुमार श्रेष्ठ वडाध्यक्ष बने ।

आफैँले हालेको भोट पनि मतगणनामा नभेटिएपछि अहिले ढकाल तनावमा छन् । ‘म चुनावी प्रतिस्पर्धामा थिएँ, मैले मेरो भोट हालेको छु, तर गणनामा मेरो मत देखाइएन । मेरो मत खोज्न अब अदालत जानेछु’, ढकाल भन्छन् ।

निर्वाचन अधिकृत खिमानन्द गौतमले भने कार्यालयबाट मतगणना गर्दा  कुनै त्रुटी नभएको दावी गर्छन् । उनी भन्छन्, ‘गणना गर्दा सबै दलको प्रतिनिधि बसेर गणना गरेको हो, सबै विवरण प्रष्ट छ ।  त्रुटी भएकै छैन् । उहाँलाई चित्त नबुझेमा उच्च अदालत जान सक्नुहुन्छ ।’