४० वर्षदेखि पाल्दै आएको ‘टुप्पी’ काटिदिएको भन्दै प्रहरीमा उजुरी


४० वर्षदेखि पाल्दै आएको ‘टुप्पी’ काटिदिएको भन्दै प्रहरीमा उजुरी

विराटनगर । विराटनगरका मनोज शर्माले आफ्नो एक फिट लामो टुप्पी काटिदिएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

४० वर्षदेखि पाल्दै आएको ‘टुपी’ काटिदिएको भन्दै मोरङ कटहरी–४ घर भइ विराटनगर १२ बस्दै आएका ५२ वर्षीय मनोज शर्मा प्रहरीसँग गुहार मागेका हुन । टाउकोदेखि कम्मरसम्म लामो आफ्नो ‘टुपी’ काटिदिने मान्छेलाई कारवाही गर्नुपर्ने उनको माग छ । 

शर्माले आफ्नो कम्मरसम्मको लामो टुप्पी कटहरी गाउँपालिका–४ का फिरोज मियाँले काटिदिएको भन्दै उजुरी दर्ता गराएका हुन् । 

यस्तो छ घटना 

शर्मा विराटनगर बस्दै आएपनि कटहरी ४ मा रहेकाे खेतीयोग्य जमिनको रेखदेख गर्न कटहरी जाँदछन् । सिचाइ नहुने भएकोले खेतीयोग्य जमिनको लागि उनले पानी तान्ने मोटर खेतमै राखेका छन् ।

‘एक दिन खेतमा राखेको मोटर चोरी भयो । चोरी भएको मटर फिरोज मियाँले लिएर हिडेको हामीले रंगेहात फेला पारियो,’ शर्माले भने, ‘हामीले चोरी गर्नेलाई कारवाहीको माग राख्दै प्रहरीमा उजुरी दिएका थियौं । उजुरी परेपछि फिरोजले हामीलाई प्रहरीमा दिएको निवेदन फिर्ता लिएर मिल्न दबाब दिदै आएका थिए । त्यही उजुरी फिर्ता नलिदिएको भन्दै १३ वैशाखमा राती कटहरी घरमा बसेको मलाई टुपीमा तानेर सडकमा ल्याएर काटिदिएको छ ।’

अहिले उनी काटिएको टुप्पी हातमा बाकेर मोरङ प्रहरीमा कारवाहीको लागि आउने गरेका छन् । ‘प्रहरीमा उजुरी त लियो । तर, अहिलेसम्म टुप्पी काटने मान्छेलाई प्रहरीले पक्राउ गरेको छैन,’ बुधबार टुप्पी बोकेर मोरङ प्रहरी परिसर बाहिर भेटिएका शर्माले भने, ‘मेरो चार दशकदेखि पालेको टुप्पी काटनेलाई कडा कारवाही हुनुपर्दछ ।’ आफु गुरुकुलमा अध्ययन गरेको ब्रमाहण भएकोले टुप्पी पाल्ने हाम्रो परम्परा रहेको उनले सुनाए । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी शान्तिराज कोइरालले टुप्पी काटेको घटनाको विषयमा अनुसन्धान भइरहेको बताए । ‘हामीले उजुरी लिएर घटनाको अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘अहिले यस विषयमा हामीले अनुसन्धान गरिरहेका छौं ।’