डडेल्धुराको परशुराम नगरमा युवाकाे नेतृत्वः मेयरमा भरत जाेशी, उपमेयरमा विमलाकुमारी बोहोरा


डडेल्धुराको परशुराम नगरमा युवाकाे नेतृत्वः मेयरमा भरत जाेशी, उपमेयरमा विमलाकुमारी बोहोरा

डडेल्धुरा- नेपाली कांग्रेसले डडेल्धुराको परशुराम नगरपालिकाको मेयरमा २८ वर्षका भरत जोशीले बिजय हासिल गरेका छन् । यसै गरी उपमेयरमा माओवादी केन्द्रकी ३१ वर्षिय विमलाकुमारी बोहोरा ले विजय हासिल गरेकी छिन् । अब युवा उम्मेदवार जोशी मेयर पद सम्हाल्ने छन् भने अर्की युवा नेतृ बोहोराले उपमेयरकाे जिम्मेवारी सम्हाल्ने छिन ।

२०४९ सालमा जोगबुढाको लालढुङ्गामा जन्मेका २८ वर्षीय भरत बडायर जोशीले परशुराम नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका हुन । समाजसेवामा अग्रसर देखिने प्रमुखका उम्मेदवार भरतले परशुरामलाई समृद्ध र विकसित बनाउने अभिलाषाका साथ प्रमुख पदमा उम्मेदवार बनेका थिए ।

जोशीले माओवादी केन्द्रका शेरसिंह माल डायमण्डलाई १३६ मतान्तरले पराजित गरेका हुन् ।जोशीले ५९४१ मत ल्याए भने माओवादीका डायमण्डले ५८०५ मत ल्याए । मेयरमा तेस्रो भएका एमालेका उम्मेदवार केशव बोहराले २६०६ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा भने माओवादी केन्द्रकी विमलाकुमारी बोहोरा विजयी भएकी छन् । उनले ५८८५ ल्याएर विजयी भइन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकै कलावती बोहोराले ४५९३ मत लाइएकी छन् भने तेस्रो भएकी एमालेकी गोमती पन्तले ३२९६ मत ल्याइन् ।

आमा मङ्गलादेवी बडायर जोशी र बुबा चन्द्रकान्त बडायर जोशीका कान्छा छोरा भरतले परशुराम नगरमा युग सुहाउँदो विकास निर्माण गर्ने प्रतिबद्धता जनाउँदै नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका थिए  । प्रारम्भिक शिक्षा जोगबुढामै रहेको ग्रिनभ्याली बोर्डिङ स्कुलबाट सुरु गरेका भरतले एसएलसीसम्म सोही विद्यालयमा अध्ययन गरेका छन् । उच्चशिक्षा हासिल गर्नका लागि महेन्द्रनगर पुगेका भरतले सामाजिक र राजनीतिक जीवन नेविसङ्घका प्रारम्भिक कमिटीबाट सुरुआत गरेका हुन् ।

युवा जोशी कांग्रेसको परशुराम नगरसमितिका अध्यक्षसमेत हुन् । कांग्रेसको १४ औं महाधिवेशनमा नगरसभापतिमा निर्वाचित जोशीलाई नै कांग्रेसले मेयरको उम्मेदवार बनाएको हो ।

यसअघि परशुराम नगरपालिकाको मेयरमा कांग्रेसबाट भीमबहादुर साउद निर्वाचित भएका थिए । साउद कांग्रेसको जिल्ला सभापति निर्वाचित भएपछि उनले मेयरमा नदोहोरिने घोषणा गरेका थिए ।

डडेल्धुरा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो ।