मनाङका चार वटै पालिकाको मतगणना सम्पन्न : कांग्रेस र एमाले विजयी


मनाङका चार वटै पालिकाको मतगणना सम्पन्न : कांग्रेस र एमाले विजयी

काठमाण्डाै – मनाङको चार वटै गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । चारमध्ये एमालेले दुई र कांग्रेसले दुई वटामा अध्यक्ष जितेको छ ।

पछिल्लो पटक नासो गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । नासो गाउँपालिकामा कांग्रेसका धनबहादुर गुरुङ ८२० मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको जिल्ला निर्वाचन अधिकृत पुष्पराज शर्माले जानकारी दिनुभएको छ । त्यहाँ एमालेका अध्यक्षका उम्मेदवार मनबहादुर गुरुङले ६४६ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा माओवादी केन्द्रका वेदबहादुर गुरुङ ९ सय १३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार अर्विन गुरुङले ४९६ मत प्राप्त गर्नुभयो । 

मनाङको ङिस्याङ गाउँपालिकाको अध्यक्षमा एमालेका कान्छा घले निर्वाचित हुनुभयो । उहाँले ८६१ मत प्राप्त गर्नुभएको छ । उहाँ प्रतिस्पर्धी नेपाली कांग्रेसका छिरिङ ओङमा गुरुङ घलेले ७ सय १३ मत ल्याउनुभएको छ । उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७ सय ४४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी हुनुभएको छ । उहाँले १५८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १११ मत पाउनुभएको छ ।

चामे गाउँपालिकामा एमाले र नार्पाभूमि गाउँपालिकामा कांग्रेस विजयी भएको छ । चामे गाउँपालिकाको अध्यक्ष पदमा एमालेका लोकेन्द्रबहादुर घले विजयी हुनुभएको हो । उहाँले ३२० मत ल्याउनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत ल्याउनुभयो ।