देशभर निर्वाचनका समयमा कहाँ के के भयो ?


देशभर निर्वाचनका समयमा कहाँ के के भयो ?

२०७९ वैशाख ३० गते एकैदिन ७ सय ५३ स्थानीय तह निर्वाचन सम्पन्न भएको छ । निर्वाचनका क्रममा थुप्रै मतदानकेन्द्र तनावपूर्ण हुन पुगे । केही स्थानमा झडप, मतदान स्थगित, हवाई फायरसम्म गर्नु पर्‍यो । 

सुदुरपस्चिम पहाडी जिल्ला बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछामका केही ठाउँमा दुई पक्षबीच झडपको स्थिती सृजना भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रवक्ता एसएसपी भोलाबहादुर रावलले जानकारी दिए। विवाद पश्चात् बाजुराका एक, बझाङका तीन र कञ्चनपुरको एक ठाउँमा विवादले चुनावी प्रक्रिया रोकिएकोले सुचारु गर्न छलफल । बाजुराको पाण्डुसैनमा पनि मतदान रोकिएको प्रहरीले जनाएको छ। यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिकामा नक्कली मतदाता आएको भन्दै मतदान प्रक्रिया रोकियो। नेकपा माओवादी केन्द्रका नेताहरुले मत हाल्न पाउने भनी फर्जी मतदातालाई पठाएपछि विवाद भएको हो। पुनर्वास नगरपालिका वडा नम्बर १० को विजय माध्यमिक विद्यालय मतदानस्थलमा मतदान रोकिएको कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत मदन धामीले बताए। उनका अनुसार राजनीतिक दलको बैठक जारी रहेकोले सहमति पश्चात् मतदान सुरु हुने छ।

बाजुराको बूढीगंगा मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच खुकुरी हानाहान हुनपुग्यो । दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, गोरखा, हुम्लाका पनि केही मतदान केन्द्रमा विवादका कारण मतदान अवरुद्ध हुनपुगेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

उत्तेजित समुहले सप्तरीको डाक्नेश्वरी मतदान केन्द्रका मतदान अधिकृत शम्भुनाथ मगरलाई कुटपिट गरी मतपेटिका नै तोडफोड गरिदिए । रौतहटको गढीमाईमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा तीनजना घाइते हुनपुगे ।

सर्लाहीको धनकौल गाउँपालिका–२ पशुसेवा केन्द्र मतदान केन्द्रमा नेपाली सेनालाई पहिलो घेरामा राखेर दिउँसो ३ बजेबाट पुनः मतदान चालु गराइएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।

उक्त केन्द्रको मतदान झण्डै ७ घण्टा अवरुद्ध भएको थियो । गोरखा, भीमसेना थापा गाउँपालिका–२ अन्तर्गत ताराखसे मतदान केन्द्रमा भीडलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाउँदा केन्द्रमा खटिएकी स्वयंसेवक घाइते भएकी छन् । स्वयंसेवी मनीषा थापाको तिघ्रामा गोली लागेको छ । कांग्रेस र माओवादीबीच विवाद बढेर गोली चलाउनुपर्ने स्थिति आएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुल्सीपुर उपमहानगरपालिका–१७ को मतदान केन्द्र पनि तनावग्रस्त बन्न पुग्यो । रौतहटको यमुनामाईमा त स्थानीयले मतपत्र नै लुटेर लगेको समाचार सार्वजनिक भएको छ ।

तनहुँको व्यास नगरपालिमा प्रमुखका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि नेपाली कांग्रेसका कार्यकर्ताहरुले कुटपिट गरेको उनको बुबा तथा पूर्वमन्त्री गोविन्दराज जोशीले जनाएका छन् । जोशीको टाउकोमा चोट लागेको छ । काभ्रेको पाँचखाल नगरपालिका–१३ स्थित श्रीराम माविको मतदान केन्द्रमा उत्तेजित समुहले मतपेटिका तोडफोड गरेपछि मतदान स्थगित हुनपुग्यो । जेष्ठ नागरिकको मत हाल्ने विषयमा भएको विवाद बढ्दै जाँदा मतदानको समयावधि सकिंदासम्म पनि धनकुटाको सहिदभूमि गाउँपालिकाम पुनः मतदान हुन सकेन ।यति हुँदाहुँदै पनि छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको आयोगका प्रवक्ताले बताएका छन् । 

आचारसंहिता उल्लंघन- गोरखाको पालुङटार नगरपालिकामा मतदान गर्न पुगेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मतदानका बेला आचारसंहिता उल्लंघन गरे ।  उनले मतदानपछि मतपत्रको फोटो खिचेर आफूले क–कसलाई मत दिएको भनेर सार्वजनिक गरेका थिए । निर्वाचन आचारसंहिताअनुसार त्यसो गर्नु संहिताको उल्लंघन हो । पालुङटार–१ स्थित अन्नपूर्ण मावि मतदान केन्द्रमा भट्टराईले मतदान गरेका हुन् निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री भट्टराईलाई ‘तपाइँलाई १५ हजार जरिवान किन नगर्ने ?’ भनी भाइवरमार्फत् स्पष्टीकरण सोधेको हो । 

आचारंहिता दलका नेतारकार्यकर्ताहरुले मात्र उल्लंघन गर्ने होइन, मतदान गराउन गएका कर्मचारीहरुले पनि गर्छन् । यस्तै भयो झापामा । झापास्थित कमल गाउँपालिका–६ को मतदान केन्द्रमा खटिएका मतदान अधिकृत शैलेन्द्र कर्णले बिहीबार एकजना उम्मेदवारलाई ८८ वटा मतदाता परिचयपत्र दिएपछि उनी कारबाहीमा परेका हुन् । सोही जिल्लाको सरणामतीस्थित जनता मावि मतदान केन्द्र ‘ग’ का सहायक मतदान अधिकृत सुरेन्द्र बस्नेतलाई मादक पदार्थ सेवन गरेको भन्ने आरोपमा कारबाही गरियो । 

मतदान स्थगित- कम्तिमा २५ मतदान केन्द्रमा मतदान स्थगित भएको निर्वाचन आयोगमा प्रारम्भिक सूचना आएको बताइएको भए पनि अहिलेसम्म कति मतदान केन्द्रमा मतदान स्थगित भयो भनी आयोगले जानकारी दिएको छैन । काभ्रेको पाँचखाल नगरपालिका–१३, रामेछाप खाँडादेवी–१ को राँकाथुप, रौतहटको फतुवा विजयपुर नगरपालिकास्थित शीतलपुरप मतदान केन्द्र, सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ र जुम्लाको गुठीचौर गाउँपालिका–३ गज्याङको निर्वाचन स्थगित भएको छ ।अरुमा भने दिउँसोतिर रोकिए पनि पुनः मतदान भएको जनाइएको छ । रामेछापका तीनवटा मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिन पुगेको थियो । राकाथुम, मानपुर र गेलुको सिक्राल केन्द्रमा मतदाताहरुबीच झडप भएपछि मतदान नै स्थगित हुन पुगेको थियो ।

अपरान्हतिर नुवाकोटका दुई मतदान केन्द्रमा मतदान स्थगित भए । पञ्चकन्या गाउँपालिका–५ स्थित बच्छला मावि केन्द्र र सूर्यगढी गाउँपालिका–४ हल्देकालिकास्थित कुण्डला आधारभूत विद्यालय केन्द्रमा कांग्रेस कार्यकर्ताले पैसा बाँडेको भनी माओवादी केन्द्रका कार्यकर्ताले विरोध गरेपछि झडपको स्थिति उत्पन्न हुँदा मतदान कार्य नै रोकिन पुगेको थियो । यी मतदान केन्द्रहरुमा पुनः मतदान गरिएको थियो । रौतहटको बोधीमाईमा एमाले–जसपाका कार्यकर्ता बीचको झगडा बढ्दै जाँदा मतपेटिकामा समेत आगजनी गरियो  हावाहुरी र वर्षाका कारण पनि केही जिल्लाका मतदान प्रभावित हुन पुगे । कर्णाली प्रदेशको सुर्खेतमा मध्यान्नतिर हावाहुरीसहित असिना पानी परेपछि केहीबेर मतदान प्रभावित हुनपुग्यो । धनुषाको मतदान पनि हावाहुरी र पानीका कारण केहीबेर स्थगित हुनपुगेको थियो । वर्षाकै कारण सिन्धुली, महोत्तरी, रौतहट, सल्यान र उदयपुरमा पनि निर्वाचन प्रक्रिया प्रभावित हुनपुग्यो । यद्यपि, वैशाख ३० गते वर्षा हुनसक्ने भनी मौसम तथा जलवायु विज्ञान महाशाखाले केही दिनअघि नै उल्लेख गरको थियो । विभिन्न कारणले देशभर ५३ केन्द्रमा मतदान अवरुद्ध हुनपुग्यो ।

६५–७० प्रतिशत मतदान

मध्यान्हसम्म ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको थियो । दिउँसो २ बजेसम्म ४१ प्रतिशत मतदान भएको थियो । साढे ३ बजेसम्म ६ वटै महानगरपालिकाहरुमा ५० प्रतिशतभन्दा बढी मत खसेको थियो । ४ बजेसम्म करिब ५५ प्रतिशत मतदान भएको थियो । मतदान सकिएपछि आयोगले ६५–७० प्रतिशत मतदान भएको हुनसक्ने प्रारम्भिक आँकलन गरेको छ ।

जेष्ठ मतदाताको उत्साह

तनहुँको भानु नगरपालिका–५ स्थित महादेवता प्रावि मतदान केन्द्रमा १ सय १३ वर्षीया गोपीमाया पोखरेलले मतदान गरिन् । र, उनले फेरि पनि मतदान गर्न पाइयोस् भनी इच्छा व्यक्त गरिन् । सायद यसपालि मतदान गर्ने उनी सबैभन्दा जेष्ठ नागरिक हुन् । इलाम, सूर्योदय नगरपालिका–१४ लक्ष्मीपुर बतासे ‘क’ केन्द्रमा १ सय १० वर्षीया विष्णुमाया अधिकारीले मतदान गरेकी छन् । रुपन्देही, तिलोत्तमाकी १ सय ८ वर्षीया टोकली विकले पनि मतदान गरेकी छन् । दाङको राप्ती गाउँपालिका–३ की १ सय ४ वर्षीया कमला शर्मा र नुवाकोटको विदुर नगरपालिका–१२ का १ सय ४ वर्षीय कृष्णबहादुर तामाङले पनि आ–आफ्नो मत प्रयोग गरेका छन् । तामाङ विदुर नगरपालिकाकै सबैभन्दा जेष्ठ नागरिक हुन् । कावासोती नगरपालिका–८ की १ सय ३ वर्षीया भागीरथी पराजुलीले पनि मतदान गरेकी छन् ।

तनहुँ, व्यास नगरपालिका–८ का ९९ वर्षीय वृषसिंह गुरुङले स्ट्रेचरमा गएर मतदान गरे भने व्यास–१ कै ९० वर्षीया हरिमाया घर्तीले पनि आज मतदान गरेकी छन् । यस्तै म्याग्दे गाउँपालिका–१ गुणादीका ९२ वर्षीय नारायणदत्त खनालले मतदान गरेका छन् । काठमाडौँ, पेप्सीकोलास्थित फुटबल ग्राउन्डमा दमका रोगी ९० वर्षीय मानबहादुर कटुवालले अक्सिनको सहारा लिएरै भए पनि मतदानको अधिकार उपभोग गरे । बैतडीमा भोट हाल्न गएका एकजना बृद्धको निधन भएको छ । पाटन नगरपालिका–६ मा भोट हाल्न लगिएका ७० वर्षीय कमल सिंह विष्टको निधन भएको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए । 

सुदुरपस्चिम प्रदेशकाे बैतडी जिल्लामा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छन् ।

जिल्लाको पाटन नगरपालिका ४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट मानमती भट्टले मतदान गरेकी हुन्। 

मतदान केन्द्रमा आज बिहान उनले पहिलो मत हालेर मतदानको उदघाटन गरेको उनका छोरा समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए ।