भारतीय प्रधानमन्त्री मोदीको भ्रमण तालिका सार्वजनिक, ‘छिमेकी पहिलो’ नीतिमा जोड


भारतीय प्रधानमन्त्री मोदीको भ्रमण तालिका सार्वजनिक, ‘छिमेकी पहिलो’ नीतिमा जोड

काठमाडौं : सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एक दिने लुम्बिनी भ्रमण तालिका बिहीबार विज्ञप्ति मार्फत सार्वजनिक गरेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी जेठ २ गते बुद्ध जयन्तीका अवसरमा नेपालको औपचारिक भ्रमणमा आउन लागेको मन्त्रालयले जनाएको छ।

लुम्बिनी आइसकेपछि मोदीले नेपालका प्रधानमन्त्री देउवासँग मायादेवी मन्दिरमा प्रार्थनामा भाग लिने,  लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति र सम्पदा केन्द्रको निर्माणको लागि शिलान्यास गर्ने र पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय सभाहलमा हुने बुद्धजयन्ती विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भारतका प्रधानमन्त्रीको रुपमा मोदीको यो पाँचौं नेपाल भ्रमण हो। यसअघि अन्तिमपटक मोदी सन् २०१८ मा नेपाल आएका थिए।

भ्रमणका क्रममा लुम्बिनीमै दुबै प्रधानमन्त्रीबीच नेपाल-भारत सहयोग र आपसी हितका विषयमा द्विपक्षीय वार्ता र विचार आदानप्रदान हुने मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री देउवाले भारतीय समकक्षीसहित भ्रमण प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन्। भ्रमणका क्रममा मोदीसँग परराष्ट्रमन्त्री डा. नारायण खड़काले शिष्टाचार भेट गर्नेछन्।

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले दुई देशबीच द्विपक्षीय सम्बन्ध र सदियौ पुरानो सामाजिक-सांस्कृतिक बन्धनहरुलाई अझै मजबुत बनाउन योगदान गर्ने विश्वास परराष्ट्र मन्त्रालयले लिएको छ।

विदेश मन्त्रालयका प्रवक्ता अरबिन्द बागचीले जारी गरेको विज्ञप्तिमा लुम्बिनी विकास कोषले आयोजना गरेको बुद्धजयन्ती कार्यक्रमलाई प्रधानमन्त्री मोदीले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ।

प्रधानमन्त्री मोदीको भ्रमणले भारतको ‘छिमेकी पहिलो’ नीतिलाई अगाडि बढाउने तथा भारत र नेपालबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको विज्ञप्तिमा भनिएकफो छ। ‘यसले दुवै देशका जनताको साझा सभ्यताको विरासतलाई जोड दिन्छ,’ भारतले भनेको छ। भारतीय विदेश मन्त्रालयले पनि बिहीबार विज्ञप्ति जारी गरेर मोदीको लुम्बिनी भ्रमणबारे जानकारी गराएको छ।